१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर बोदेबर्साइन नगरपालिका–२ प्रितमपुरका ७१ वर्षीय हृदयलाल यादवलाई साउन ३१ गते ६ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले आरोपित यादवलाई कसुर ठहर गर्दै ६ महिना कैद सजायको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
आरोपितविरुद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा २०७८ जेठ ३१ गते उजुरी दिनुभएको थियो । घरमा बालिका एक्लै भएका बेला २०७८ जेठ ३१ गते दिउँसो साढे ११ बजे घर प्रवेश गरेका आरोपितले बलात्कार गरेको पीडितले बताएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ असार १ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो। प्रहरीले आरोपित विरुद्ध ०७८ असार १३ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो ।
आरोपित गिरफ्तार नभए पछि जिल्ला अदालतमा ०७९ जेठ २६ गते अभियोजन पत्र दायर भयो । अदालतमा हाजिर भएका आरोपित जिल्ला न्यायाधीश इश्वरमणि ओझाको आदेशमा ०७९ असार ७ गते धरौटीमा रिहा भएका थिए ।