INSEC Online

📅 २०८३ जेष्ठ २१

जहाजको प्रतिक्षामा रहेका चार जना बालकले ज्यान गुमाए

नियमित हवाई सेवा नहुँदा थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसक्दा एक महिनामा चार जना बालकले ज्यान गुमाउन पुगेका छन ।
हुम्लामा पछिल्लो समय हवाई सेवा प्रभावित भएपछि समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा चार बालकको ज्यान गएको परिवारहरूले आरोप लगाएका छन ।

नेपाल नागरिक उड्यन प्राधिकरणले हिमाली जिल्लामा साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लगाएपछि हुम्लामा हवाई सेवा प्रभावित भएको छ । यो समय हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमअनुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी लगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्ने व्यक्तिहरू बढी समस्यामा परेका छन ।

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर भएका सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिनाका छोरा इमरान सुनारलाई समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा उनको मृत्यु भएको सुरज सुनारले बताउनु भयो ।

बालकलाई निमोनिया, झाडापखाला र जटिल खाले संक्रमण भएपछि अस्पतालले साउन १८ गते जिल्लाबाहिर रिफर गरेका थियो । त्यसयता हवाई सेवा अवरुद्ध भएकाले थप उपचार गर्न नपाउँदा बालकको साउन २६ गते मृत्यु भएको थियो ।

त्यसैगरी साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका सिमकोट गाउँपालिका–७ स्थित ग्वालेखोरकी लालकला शाहीका ६ महिनाका छोरा रोहितको साउन २४ गते मृत्यु भएको थियो । रोहितलाई अस्पतालले जिल्लाबाहिर रिफर गरेको थियो ।

त्यस्तै, अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरेका खार्पुनाथ गाउँपालिका–१ का १७ महिनाका आर्यन परियारको साउन ७ गते मृत्यु भएको थियो भने चंखेली गाउँपालिका–४ का पाँच वर्षीय बालक सन्देश लुवारको पनि उपचार अभावमा मृत्यु भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनु भयो ।

उहाँका अनुसार जिल्ला अस्पतालमा स्रोतसाधन अभाव र समयमा हवाई उडान नभएकै कारण चार जना बालबालिकाहरुको मृत्यु भएको हो ।

सडक सञ्जालले नजोडिएको हुम्ला जिल्लामा नियमित उडान नहुँदा बिरामीदेखि अन्य व्यक्तिलाई आवतजावतमा समस्या हुने गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनु भयो । हवाई सेवालाई सुचारु गर्न प्रयास गरिरहेको उहाँको भनाइ छ ।  प्राधिकरणले उडान पहिलेकै समयमा गर्ने आश्वासन दिएपनि अहिले सम्म कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

अन्य

भिडियो