भरतपुर कारागार भित्र रहेका कैदी अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बीए दोस्रो वर्षमा भर्ना भई परीक्षा फाराम भर्नुभएका अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको हो । त्रिभुवन विश्वविद्यालयले अहिले बीए तर्फ दोस्रो परीक्षा सञ्चालन गरिरहेको छ ।
परीक्षा नियन्त्रण कार्यालय र कारागार व्यवस्थापन कार्यविधि फरक पर्दा धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको हो । यस अघिका वर्षहरूमा कारागार नै परीक्षा केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिने व्यवस्था थियो । तर यसवर्ष त्रिवि प्राज्ञिक परिषद्ले कारागार परीक्षा केन्द्र स्थगनको निर्णय गरेपछि समस्या भएको हो । यो निर्णय परिषदबाट ०७९ चैत २९ गते भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयले यस विषयमा देशका सबै सम्बन्धित क्याम्पसमा वैशाख ११ गते परिपत्र गरेर जानकारी दिएको थियो । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा सामेल हुन चाहेमा सुरक्षा निकायको समन्वयमा परीक्षा केन्द्रबाटै परीक्षा दिनु पर्ने भनी परिपत्र गरेको छ । सुरक्षा निकायको जिम्मेवारीमा मात्रै परीक्षा दिने व्यवस्था परिपत्रमा उल्लेख छ ।
धमलाले बीए प्रथम वर्षको परीक्षा भने कारागारबाटै दिनुभएको थियो । यसवर्ष पनि परीक्षा दिन पाउँ भनी उहाँले कारागार प्रशासनलाई निवेदन दिनुभएको थियो । कारागार प्रशासनले परीक्षा नियन्त्रण कार्यालयबाट कारागार केन्द्र स्थगन भएको जानकारी उहाँलाई दिएको थियो ।
त्यसपछि धमलाको परीक्षाका लागि उहाँको केन्द्र तोकिएको मैयाँदेवी कन्या क्याम्पसमा परीक्षा दिने तयारी पनि भयो । तर सुरक्षा समन्वय नहुँदा उहाँ परीक्षा दिनबाट वञ्चित हुनुभयो । पहिलो परीक्षा साउन २८ गते थियो । दोस्रो परीक्षा साउन ३२ गते विहीबार रहेको छ । ‘पहिलो परीक्षा छुटेको छ, दोस्रो पनि दिने व्यवस्था भएको छैन, भरतपुर कारागार प्रशासनले भन्यो ।
कारागार व्यवस्थापन कार्यविधि २०७३ को परिच्छेद ३ को दफा ११ (९) मा कारागार नै केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिन पाउने व्यवस्था छ । तर परीक्षा नियन्त्रण कार्यालयले केन्द्र स्थगन गरेपछि आफूहरूले परीक्षा सञ्चालन गर्न नसकेकोको भतरपुर कारागारका निमित्त प्रमुख लेखनाथ पौडेलले बताउनु भयो ।
परीक्षाको सहजताका लागि पहल गर्दा वीरेन्द्र बहुमुखी क्याम्पसले साउन १४ गते कारागारलाई पत्र लेख्दै परीक्षा नियन्त्रण कार्यालयको निर्णय अनुसार केन्द्र तोकिएको क्याम्पसबाट मात्र परीक्षा लिन सकिने बताएको छ । क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले परीक्षा नियन्त्रण कार्यालयको परिपत्र उद्धृत गर्दै कारागारमा परीक्षा लिन नसकिने अवगत गराएका छन् ।
कारागारको व्यवस्थापन अन्योल हुँदा यस्तो समस्या भएको सहायक जिल्ला प्रमुख अधिकारी चिरञ्जिवी शर्माले बताउनु भयो । यसरी परीक्षा दिनबाट वञ्चित गराउँदा पीडितको शिक्षाको अधिकार हनन् भएको उहाँले उल्लेख गर्नुभयो ।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले सुरक्षा संवेदनशीलताका कारण परीक्षा केन्द्रमा लगेर परीक्षा दिने वातावरण मिलाउन नसकिएको बताउनु भयो । ‘कारागारमा भएका सुरक्षा कर्मीले त्यहीँ सुरक्षा दिने की परीक्षार्थीको सुरक्षामा लाग्ने हामीलाई व्यवस्थापन गर्न गाह्रो भएकाले परीक्षामा सहाभागी गराउन नसकिएको हो’, एसपी कार्कीले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले कैदीबन्दीले शिक्षाको अधिकारबाट वञ्चित हुनु मानव अधिकारको उल्लङ्घन भएको बताउनु भयो ।
इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले एउटा बन्दीले परीक्षा दिन पाउनु पर्ने न्यूनतम अधिकार प्रयोग गर्नलाई कारागार प्रशासन र सुरक्षा निकायबाट भएको यो गम्भीर त्रुटीलाई सच्याउन र आगामी दिनका परीक्षामा सहभागी गराउनलाई सम्बन्धित निकायको ध्यानकार्षण गराउनु भयो ।
उहाँले आगामी दिनमा कारागारमा रहेका कुनै पनि कैदीबन्दीलाई परीक्षा दिनबाट वञ्चित हुन नदिनका लागि परीक्षा नियन्त्रण कार्यालय, कारागार प्रशासन तथा सुरक्षा निकालयलाई समन्वय गरेर लान कारागार व्यवस्थापन विभागको समेत ध्यानाकर्षण गराउनु भयो ।
प्रदेश संयोजक भण्डारीले बन्दी अभिषेकलाई बाँकी परीक्षामा सामेल गराउन राष्ट्रिय मानव अधिकार आयोग, कारागार व्यवस्थापन विभाग र जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग समन्वय भइरहेको समेत बताउनु भयो ।