बलात्कार पीडित १३ वर्षीया बालिकालाई इन्सेकले साउन ३० गते न्यायिक प्रक्रियालाई सहज बनाउन आर्थिक सहयोग प्रदान गरेको छ । आर्थिक अभावका कारण पीडितहरूले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्ने उद्देश्यले इन्सेकले इलाका प्रहरी कार्यालय (मुद्दा शाखा) बुटवलको सिफारिसमा आर्थिक सहयोग प्रदान गरेको हो ।
इन्सेकले गरेको आर्थिक सहयोगका कारण आफूहरूलाई न्याय पाउन सहज हुने र आर्थिक अभावको अवस्थामा यो सहयोगले ठुलो राहत हुने भन्दै पीडित बालिकाले भनिन्–‘मेरी आमा अलिक पैसा भएकी भए यसरी मलाई बाबु मानेको मान्छेले बलात्कार गर्ने थिएन । यो सहयोगले मलाई प्रहरी र अदालतसम्म पुग्न सहयोग हुन्छ ।’
पीडित बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले ३० वर्षीय काकाविरूद्ध साउन २२ गते उजुरी दर्ता गरेको थियो । पीडित बालिकालाई पटकपटक बलात्कार गरेको र अन्तिम पटक साउन १३ गते बलात्कार गरेको भनी पीडित बालिकाले साउन २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएकी थिइन् ।
पटकपटक बलात्कार गरेको र कसैलाई भने ‘तँलाई, तेरो आमा र बहिनीहरूलाई मारिदिन्छु’ भन्दै धम्की दिँदै बलात्कार गरेकाले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे इन्सेककर्मीसँगको कुराकानीमा पीडित बालिकाले बताइन् ।
पीडित बालिकालाई इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले इलाका प्रहरी कार्यालयको रोहवरमा नगद ८ हजार रुपियाँ नगद प्रदान गरेकी हुन् । पीडितले न्यायका लागि जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएको प्रहरीमा बकपत्र गर्न र न्यायका लागि प्रहरीमा आउनजान यातायातको समस्याले तोकिएको समयमा उपस्थित हुन नसक्दा मुद्दाको प्रक्रियामा ढिलाइ हुने गरेकाले पीडितलाई सहयोग गरिएको हो ।