बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न सात जना आरोपितलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले ०८० साउन २७ गते गिरफ्तार गरेको छ ।
प्रहरी गिरफ्तारीमा पर्नेहरूमा बङ्गलादेश गाजीपुर घर भई काठमाडौँ महानगरपालिका-९, कालीमाटीडोल बस्ने ४७ वर्षीय अमिर होसेन, बङ्गलादेश बरिसाल घर भई ललितपुर महानगरपालिका-२८, हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बङ्गलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मिया, सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली, बङ्गलादेशको ढाका घर भई काठमाडौँको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौँको कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौँको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज के.सी.का अनुसार बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई काठमाडौँको विभिन्न होटल तथा सेफ हाउसमा बन्धक बनाई परिवारको सदस्यहरूसँग १० लाख फिरौती माग गरेको र नदिएमा ज्यानसमेत लिने धम्की दिएकोमा उक्त रकम पठाएपश्चात पनि पुनः २० लाख माग गर्दै डर त्रास दिएको भन्दै प्रहरीमा ०८० साउन २२ गते पीडित परिवारका तर्फबाट उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा काठमाडौँ महानगरपालिका-९, कालीमाटीडोलस्थित मेमोरियल गेष्ट हाउस, ललितपुर महानगरपालिका-२८, हरिसिद्धिस्थित एक घर र काठमाडौँ महानगरपालिका-१, नक्सालस्थित रोशनी राईको केटीसी ब्युटी पार्लर स्पा मसाज सेन्टरमा बन्धक बनाई राखेको अवस्थामा आठ जना बङ्गलादेशी नागरिकहरूलाई समेत उद्दार गरेको एसएसपी के.सी.ले बताउनु भयो ।
गिरफ्तारीमा परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम तथा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम जिल्ला अदालतबाट ०८० साउन २८ गते सात दिनको म्याद थप गर्दै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।