बेनिघाटरोराङ गाउँपालिका-५ का ४० वर्षीय शिवकुमार कार्की ०८० असार ३१ गतेदेखि बेपत्ता भएकाले खोजी गरी अवस्था पत्ता लगाउन नागरिक अगुवाहरू र राजनीतिक दलहरूले आग्रह गरेका छन् ।
बेनिघाटरोराङ गाउँपालिका-५ स्थित चरौँदी नजिक रहेको हुक्काबारमा खाजा खाएपछि सम्पर्कमा नरहेका कार्कीको एक महिना हुँदा समेत पत्तो नलागेपछि ०८० साउन २८ गते प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्र लगायतलाई भेटी प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको हो ।

शिवकुमारकी पत्नि नानीमैयाँ श्रेष्ठ कार्कीले साउन ४ गते बेपत्ताको खोजी गरिदिन इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिनुभयो । घटना खोजिहुँदै जाँदा प्रहरीले अनुसन्धानको क्रममा पछिल्लो फोन कल गर्ने हुक्काबारमा रहेकी कुमारी तिवारीलाई साउन ५ गते गिरफ्तार गर्यो । प्रहरीले अनुसन्धान गर्दा १० दिनको बिचमा ती महिलासँग ७२ पटक फोन कल भएको थियो । सुरुमा महिलालाई घर पठाएकोमा असार ७ गते महिला हात बाँधिएको अवस्थामा फेला परेपछि अनुसन्धान नयाँ तरिकाबाट भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले जाकारी दिनुभयो ।
उक्त घटनामा महिलासँग प्रहरीले बुझ्दा पटक पटक फरक फरक बयान दिने गरेको एसपी मिश्रले बताउनु भयो । कुमारी तिवारीले सुरुमा शिवकमारलाई मारेर नदीमा फालिदिएको, पछि खाडल खनेर राखेको, हात बाँधेको मानिस नचिनेको तर पछि आफैले हात बाँधेको भन्दै फरक फरक बयान दिएको एसपी मिश्रले जानकारी दिनुभयो ।
बेनिघाटबजार बासी र आफन्तले हराएका शिवकुमारको खोजी गर्न र हत्या भएको भए तत्काल कारबाही गर्न माग गर्दै साउन ९ गतेदेखि साउन १९ गतेसम्म बजारमा प्रदर्शन गरे । घटनाको खोजी भइरहेको, प्रहरीले गोताखोर टोली परिचालन गरी त्रिशुली नदीमा खोजेको र तालिम प्राप्त कुकुर परिचालन गरी खोजेको जिल्ला प्रहरी कार्यालयका एसपी मिश्रले जानकारी दिनुभयो । खोजि भइरहे पनि शिवकुमारबारे कुनै जानकारी हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भए पनि आरोपितहरू पत्ता लगाउन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालयले साउन १७ गते सो मुद्दा जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि बेनिघाटरोराङ गाउँपालिका-५ का ४० वर्षीया कुमारी तिवारी र हराएको दिनसँगै घुमेका ३५ वर्षीय इन्द्र कँडेललाई हिरासतमा राखेको छ । पीडित परिवारले उजुरी दिन खोज्दा प्रहरीले पछि दिनु भनेर लिएको छैन । थुनेर राखिएका दुई जनालाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएर राखेको बताइएको छ ।
नागरिक अगुवाहरू इन्सेक प्रतिनिधि, गैसस महासङ्घ बागमती प्रदेशका पुर्व अध्यक्ष दामोदर अर्याल, महिला मानव अधिकार रक्षक राधिका सापकोटा, नेपालपत्रकार महासङ्घ धादिङका पुर्व अध्यक्ष नवराज छत्कुली, पत्रकार शिव सिलवाल, पोषनाथ अधिकारी लगायतले बेपत्ताको अवस्था पत्ता लगाउन आग्रह गरेको थियो । नागरिक अगुवा तथा सञ्चारकर्मीहरूले साउन २७ गते बेनिघाटमा पुगेर पीडित परिवार, बजारबासी र गाउँपालिका प्रमुख विवेक थपलियासँग भेटेर जनकारी लिएको थियो ।
