INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको चरम अभाव

शारदा नगरपालिका–९ नयाँबस्ती, सानीगारे र ढिरुवाका गाँउमा हरेको ७१ घर परिवारमा खानेपानीको चरम अभाव रहेको छ । बर्खाको समयमा होस् या अरु समयमा सधै खानेपानीको समस्या हुने गरेको छ ।

स्थानीय लिला रेउलेको घरनजिकै पानी पाइँदैन । उहाँ झण्डै तीन घण्टा तल हरलेखोलामा पुगेर उकालोमा पानी बोकेर आउनुहुन्छ । विहे गरेर आएदेखि डोकोमा पानी बोकेर शुरु भएको उहाँको दुःख अहिलेसम्म टुटेको छैन । खानेपानीको अभावले बालबालिकाहरू समेत बोतल, जर्किन, गाग्रीलगायतका भाँडा बोकेर पानी लिन हिँड्छन् ।

सबैले पानी बोक्न समय दिनुपर्छ । घरका केटाकेटीले त काम गर्नुपर्ने भएपछि लिलालाई पानी नबोकी सुखै हुने कुरा भएन । ‘म त घरमा एक्लै छु, केटाकेटी साना–साना छन्, छिमेकीहरु राति १÷२ बजे उठेर पानी बोक्न जान्छन्, एक्लै जान म सक्दिनँ, जो पहिले गयो, उसले कुवाको पानी ल्याउने हो, कुवामा ५/७ गाग्री हुन्छ, बाँकी सबै खोलामा नै पुग्नुपर्छ’– उहाँले भन्नुभयो ।

सबेरै पानी ल्याउन गए पनि अबेर मात्रै घर फर्किने गरेको उहाँको भनाइ छ । ‘पानी भर्ने पालो नै पाइँदैन, एक्लै भएकाले छिटो घरमा आएर खाना बनाई खुवाएर केटाकेटी स्कुल पठाउनुपर्छ, आफूलाई हतार हुन्छ, कैयौं पटक पानी भर्दाखेरी स्थानीयसँग झगडा भएको छ’– उहाँले थप्नुभयो– ‘यो हाम्रो बाध्यता हो, घर छिटो आउँ पालो पाइँदैन, पालो पर्खिउँ केटाकेटीको पढाइ छुट्छ ।’

सोही ठाँउकी मनकली थापा सबै काम थाँती राखेर पानीको जोहो गर्न बिहानै खोला झर्नुहुन्छ । उहाँले पालो कुरी एक गाग्री पानी बोकेर घर फर्किदा अबेर भइसकेको हुन्छ । त्यति टाढाबाट बोकेर ल्याएको पानी खान र बस्तुभाउलाई खुवाउन सधैं अपुग हुन्छ । अड्कली अड्कली पानी चलाउनुपर्ने अवस्था छ । कैयौं पटक त बेलुकाको खाना खाएर पानी ल्याउन खोला गएको उहाँको अनुभव छ ।

‘कहिले बेलुकाको खाना खाएर ९/१० बजे पानी ल्याउन जान्छौं, कहिले राति उठेर १/२ बजे खोलामा जान्छौं, तर जाने बित्तिकै पनि पानी पाइँदैन । कुवामा जाने हो भने लाइन लाग्नुपर्छ, पालो कति बेला आउँछ, थाहा नै हुँदैन्, यदि खोलामा जाने हो भने पानी त पाइन्छ तर जाने आउने गर्दा तीन घण्टा भन्दा बढी लाग्छ’– उहाँले भन्नुभयो– ‘खानेपानीको समस्या सधै यस्तै हो, एउटाको काम नै पानी बोक्ने हुन्छ ।’उहाँले खानेपानीको अभावमा सरसफाइ गर्न समस्या हुने गरेको बताउनुभयो ।

‘बोकेर ल्याएको पानी आफूले खाने र बस्तुभाउलाई खुवाउने ठिक्क हुन्छ, शौचालय प्रयोग गर्न गाह्रो हुन्छ, कपडा लगाएर राख्यो, एक/दुई हप्तामा कपडा धुन खोलामा जाने हो’– उहाँले भन्नुभयो । विवाह, पूजा लगायतका कार्यमा स्थानीयलाई पैसा दिएर पानी बोकाउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

यस समस्याको समाधानका लागि अहिले काकाकुल बस्तीमा खानेपानी पुर्याउन पहल थालिएको स्थानीय तजमल थापाले बताउनु भयो ।

मानवबस्तीदेखि करिब दुई किलोमिटर तल रहेको पानी लिफ्टमार्फत झण्डा हानेको डाँडामा तानेर सबैका घरमा खानेपानी पुर्याउने लक्ष्य छ । कर्णाली प्रदेश सरकारको बहुबर्षीय योजनामार्फत अहिले २ करोड १५ लाखमा लिफ्ट खानेपानीको काम भइरहेको छ । अबको डेढ महिनाभित्रमा काकाकुल बस्तीका सबै घरमा खानेपानी पुरयाइने वडाध्यक्ष हेमेन्द्रकुमार बुढाथोकीले बताउनुभयो ।

‘हामीले यहाँका बस्तीमा खानेपानी पुर्याउने भनेर ०७४ सालदेखि नै पहल गरेका छौं । खानेपानीको मुहानको विवादले ढिला भयो । अहिले हरलेखोलाबाट डाँडामा पानी पुगिसकेको छ । तीनवटै गाउँमा जाने पाइप लाइन तयार भएको छ । घर–घरमा जाने लाइन खन्न बाँकी छ’– उहाँले भन्नुभयो– ‘जतिसक्दो छिटो सबै घरमा खानेपानी पुर्याउने गरेर काम अघि वढाएका छौं ।’०८१ साल कार्तिकमा सम्पन्न गर्ने गरी भूमि निर्माण सेवाले ०८० वैशाखमा सम्झौता गरेको थियो ।

Photo20230811Salyan

अन्य

भिडियो