भरतपुर महानगरपालिका-१३ का अपाङ्गता भएका १३ वर्षीय बालक अभिषेक सुनार चार वर्षपछि बन्धन मुक्त हुनुभएको छ । बन्धन मुक्त हुनुभएका सुनारले अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको पहलमा जन्मदर्ता र अपाङ्गतासम्बन्धी परिचय पत्र राज्यले दिनुका सथै सामाजिक सुरक्षा भत्ता समेत पाउन थाल्नुभएको छ ।
अभिषेकले मासिक ४ हजार रुपियाँ भत्ता पाउनुहुन्छ । विद्यालय जाने उमेर भएपनि औपचारिक शिक्षाबाट वञ्चित हुनु परेको अभिषेकका लागि घुम्ती शिक्षकको सहयोगमा अभिभावकमार्फत दैनिक क्रियाकलाप सिकाउने गरिएको छ ।
उहाँ हजुरआमा सुकुमाया र हजुरबुबा मैते सुनारको रेखदेखमा हुनुहुन्छ । विपन्न परिवारका अभिषेकको लालनपालका लागि हजुरबुबा र हजुरआमा घर बाहिर जाँदा उहाँलाई घरभित्रै बाँधेर जाने गरेका थिए । उहाँको दर्दनाक अवस्थाबारे अटिजम केयर चितवन सोसाइटीबाट खटिएकी घुम्ती शिक्षिका निशा नेपालीले पत्ता लगाउनुभएको थियो ।
अटिजम केयर चितवन सोसाइट मार्फत सञ्चालन गरिएको अपाङ्गता समावेशी विकासका लागि समावेशी शिक्षा परियोजनाले अभिषेकको जन्मदर्ता बनाउने र उहाँलाई सरकारबाट प्राप्त हुने अपाङ्गताको भत्ता प्राप्तिका लागि परिचयपत्रसँगै बैंकिङदेखि सबै प्रक्रिया पूरा गर्न सहजीकरण गरिदिएको संस्थाकी कार्यकारी निर्देशक प्रमिला न्यौपानेले बताउनु भयो ।
‘उहाँ बन्धन मुक्त हुनु खुशीको कुरा हो, साथै अपाङ्गता भएका व्यक्तिले पाउने अधिकार समेत दिलाएका छौँ, त्यसबाट हामी झनै खुशी छौँ’, कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो । आफूहरूले सूचना पाउँदा अभिषेकलाई निरन्तर बाँधेर राख्ने गरेको र खाना, दिसा पिसाव एकै ओछ्यानमा हुने गरेको उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम चालु छ । भरतपुरका १ सय १३ र ३५ ओटा कालिकाका विद्यालयमा काम गरेको उहाँको भनाइ छ । इसीडि देखि ८ कक्षा सम्मका बालबालिका तथा विद्यालय जाने उमेरका १८ वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका र दैनिक क्रियाकलाप गर्न नसक्ने बालबालिकाको प्रारम्भिक पहिचान घुम्ती शिक्षक मार्फत गरी तथ्याङ्क सङ्कलन गरेर उनिहरूको सशक्तिकरणका लागि काम गर्ने गरेको न्यौपानेको भनाइ छ ।
अभिषेकका लागि सहायक सामाग्री जस्तै बस्ने कुर्ची, हिँड्न सजिलो होस् भनी प्यारालाल बार, शौचालय कुर्ची, जीर्ण अवस्थाको घरमा सुधार, सुत्न सहज होस भनी खाट उपलब्ध गराएको न्यौपानेले बताउनु भयो ।
केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले स्वविवेकीय (Suomoto) उजुरी ग्रहण गरी अनुसन्धान प्रारम्भ गरिएको राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय प्रमुख तथा सहसचिव यज्ञप्रसाद अधिकारीले बताउनु भयो ।
बौद्धिक अपाङ्गताबाट पीडित १३ वर्षीय बालक अभिशेक सुनारलाई दाम्लोमा राखेर बाँधेको घटनाको अनुगमन गरेको र हाल उहाँको अवस्थामा सुधार आएको सहसचिव अधिकारीले जानकारी दिनुभयो ।
आयोगको पहलपछि भरतपुर महानगरले अटिजम केयर चितवनको समन्वयमा बालकको जन्मदर्ता गरी अपाङ्गता परिचय पत्र बनाई मासिक भत्ता दिन थालेको उहाँको भनाइ छ । अनुगमन टोलिमा राष्ट्रिय मानव अधिकार आयोगका लोकनाथ घिमिरे, अपाङ्ग महासङ्घ, बागमती प्रदेश कार्यालयका सचिव पर्वतराज विष्ट, अटिजम केयरका चितवनका निर्देशक प्रमिला न्यौपानेको सहभागिता थियो । सुनार परिवार बस्दै आएको जङ्गल छेउमा रहेको त्यो जमिन ऐलानी हो । नातिको उपचार गराउन उनिहरूसँग पैसा नभएको हजुरआमा बताउनुहुन्छ ।
