INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

कालिञ्चोक गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सहदेव खड्कालाई प्रहरीले ०८० साउन २३ गते लापिलाङबाट गिरफ्तार गरेको छ ।

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुविन्डेमा तोकिएको कारण वडा अध्यक्ष खड्काले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको भन्दै कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले साउन २३ गते अस्थाई प्रहरी चौकी, सुनखानीमा मौखिक उजुरी दिनुभएको थियो ।

वडा अध्यक्ष खड्का एक्लै प्रमुख प्रशासकीय अधिकृत ओलीको कार्यकक्षमा पुगेर कुर्चि, सोफा, कम्प्युटर लगायतका सामान फालेको गाउँपालिकाकी शाखा अधिकृत रोशनी आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार वडा अध्यक्ष खड्काले कार्यालयमा प्रवेश गरी तोडफोड गरेपछि निस्किएर हिँडेका थिए ।

वडा अध्यक्ष खड्का गाउँपालिकाको स्थायी केन्द्र तोक्न साउन २२ गते भएको मतदानको पक्ष वा विपक्षमा नउभिई तटस्थ बस्नुभएको थियो । उहाँसहित वडा नम्बर ५ का चार जना वडा सदस्य तटस्थ बसेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

पालिकाको स्थायी केन्द्र अपायक भएको भन्दै असन्तुष्ट देखिएका खड्काले सोही विषयलाई लिएर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओली कार्यकक्षमा नभएका बेला उहाँको कार्यकक्षमा तोडफोड गरेको उपाध्यक्ष बुढाथोकीले बताउनु भयो ।

Photo_080-4-23_Dolakha

अन्य

भिडियो