INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाको कसुरमा आठ वर्ष कैद

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–३ का २२ वर्षीय मो. ईन्तियाज, २१ वर्षीय मो. नसिम र १८ वर्षीय मो. आलमलाई साउन २२ गते ८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपितहरूलाई कसुरदार ठहर गर्दै बलात्कारतर्फ जनही साढे ६ वर्ष र सामूहिक बलात्कारतर्फ जनही साढे १ वर्ष गरी ८ वर्ष कैद सजाय भएको अदालतले जानकारी दिएको छ । पीडितलाई आरोपितहरूबाट जनही २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत भएको छ ।

आरोपितहरूले ०७४ चैत २१ गते बलात्कार गरेको भन्दै पीडितकी दिदीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७४ चैत २५ गते उजुरी दिनुभएको थियो । खडग नगरपालिका–३ बाट अपहरण गरी राजविराज ल्याई बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ०७४ चैत २५ गते स्वास्थ्य परिक्षण भएको थियो । इलाका प्रहरी कार्यालय कल्याण्पुरले ०७५ चैत २५ गते नै उजुरी दर्ता गरेको थियो ।

आरोपितहरूविरुद्ध जिल्ला अदालतमा ०७५ असोज १४ गते अभियोग पत्र दर्ता भएपछि फरार आरोपितहरूका हकमा अदालतले वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो । आरोपितहरू फेला नपरेपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले ०७६ पुस १३ गते मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो । अदालतले ०७९ माघ १९ गते मुल्तबी जगाएर उक्त फैसला गरेको हो । आरोपितहरू फरार नै रहेकोले उनीहरूको ०८० जेठ ५ गते सरजमिन गरेर अंश रोक्का गरिएको छ ।

अन्य

भिडियो