INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीतका घटनामा साढे ८ सय बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८ सय ५३ बालबालिकाको प्रयोग गरेको पाइएको राससले जनाएको छ ।

केन्द्रीय बालकल्याण समितिले पहिलो चरण (गत वैशाख ३१) मा सम्पन्न प्रदेश नं ३, ४ र ६ मा गरेको बाल अधिकार अनुगमनको प्रतिवेदनानुसार ३७ घटनामा ८ सय ५३ बालबालिलाई दलहरुले प्रयोग गरेको पाइएको हो ।

पहिलो चरणको चुनावी प्रचारप्रसारका क्रममा जिप, ट्र्याक्टर, टिपर, ट्रकजस्ता सवारीसाधनमा बालबालिकालाई राखी पदयात्रा, आमसभालगायत घरदैलो अभियानमा १६ घटनामा ६ सय ९४ बालबालिका प्रयोग भएका थिए भने बालबालिकालाई बाजा बजाउने दुई घटनामा सात बालबालिका प्रयोग भएको देखिएको छ ।

यस्तै उम्मेदवार मनोनयनका क्रममा चार घटनामा ३० बालबालिकाको प्रयोग भएको तथा निर्वाचनको दिन बालबालिकालाई स्वयम्सेवकका रुपमा दुई घटनामा २० बालबालिका प्रयोग भएको प्रतिवेदनले देखाएको छ । विजय जुलुसमा चुनाव चिह्न अङ्कित टिसर्ट लगाई नारा लगाएको पाँच घटनामा ९२ बालबालिका प्रयोग भएको पाइएको छ ।

समितिका कार्यकारी निर्देशक तारक धितालले देशको राजनीतिक गतिविधि तथा प्रक्रियामा बालबालिकाको सरोकार रहनु र उनीहरुले आफ्ना कुरा भन्न पाउनु तथा सम्बन्धित पक्षले सुनिदिनु बालबालिकाको अधिकार भए पनि दलविशेषका लागि बालबालिकालाई राजनीतिक क्रियाकलापमा प्रयोग गरिनु बाल अधिकारसम्मत बाल सहभागिता मान्न नसकिने बताए ।

अन्य

भिडियो