काठमाडौँको बागबजारस्थित काठमाडौँ मोडल कलेज (केएमसी) मा पढ्ने सिराहाका १७ वर्षीय अविनाश यादवमाथि सोही कलेजमा १२ कक्षामा पढ्ने १७ वर्षीय प्रमिश थापा, १९ वर्षीय युनिक सिञ्जाली र १८ वर्षीय उज्ज्वल मैनालीले कलेज प्राङ्गणभित्रै कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका यादवको ओँठमा चार ओटा टाँका लगाइएको छ ।
पीडित विद्यार्थी यादवका अनुसार ०८० साउन १० गते विद्यालयको ओरेन्टेसन कर्यक्रमका लागि नृत्य सिक्ने क्रममा तीन जनाले आफूलाई जिस्क्याएको र आफूले जस्तो आउँछ त्यस्तै नाच्ने जबाफ दिएको कारणलाई लिएर पछि उहाँलाई होस्टलको ‘इ’ ब्लकमा बोलाएर आरोपित तीनै जनाले कुटपिट गरेका थिए ।
यादवले घटनाबारे देख्दा देख्दै होस्टल वार्डेन राजेश अधिकारी र कोर्डिनेटर सुनम गैरेले नछुट्टाएर आरोपितहरूसँग मिलेको आरोप लगाउनुभएको थियो ।
घटना देखेपछि क्यान्टिनको कर्मचारीले आफूलाई छुट्टएको र कुटपिटपछि कलेजले आरोपित तीनै जनालाई भगाएको यादवले इन्सेकलाई बताउनु भयो ।
घटनापछि आफूलाई क्यान्टिनको कर्मचारीले उद्दार गरेर केएमसीकै प्रथमिक उपचार कक्षमा उपचार गरिएको पीडित यादवले जानकारी दिनुभयो ।
घटनाबारे पीडित परिवारले प्रहरी वृत्त, सिंहदरबारमा साउन ११ गते उजुरी दिएको थियो । पीडित परिवारको उजुरीका आधारमा घटनाबारे बुझ्ने र अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिनुभयो ।
घटनाबारे इन्सेकले कलेजका प्रधानाध्यापक डा. नगेन्द्र बहादुर अर्यालसँग जानकारी लिँदा उहाँले विद्यार्थीहरूबीच आपसी मनमुटावका कारण झगडा भएको र आरोपित विद्यार्थीहरूलाई कलेज प्रसाशनले एक हप्ताका लागि निकाला गरेर कारवाही गरेको उल्लेख गर्नुभयो ।