तातोपानी गाउँपालिका – २ स्थित हिमशिखर माध्यमिक विद्यालयमा अध्यायपन गरेका शिक्षक भोजराज न्यौपानेले दुई महिनाको तलब नपाएको गुनासो गरेका छन् ।
शिक्षक न्यौपानेले ०८० जेठ ८ गते राजिनामा दिएकाे र आफु कार्यरत हुँदा दुई महिना सात दिनको मासिक तलब, पोसाक भत्ता र दुर्गम भत्ता विद्यालयले नदिएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, ‘मैले आफ्नो श्रम गरेको तलब माग्दापनि पाएको छैन । विद्यालयका जिम्मेवार व्यक्ति तलब माग्दा बाहना मात्रै गर्छन् । अन्याय भएको छ ।’
२०७८ चैत १ गतेबाट विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी गणित विषयको अस्थायी करार पदमा शिक्षक न्यौपाने नियुक्त भएका हुन् । शिक्षक नियुक्तिका लागि विद्यालयले २०७८ साउन ८ गते विज्ञापन गरेको थियो । तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले २०७९ वैशाख ८ गते विज्ञापन अनुसार रित पुर्वक निवेदन दिएका न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
विद्यालयले न्यौपानेलाई २०७८ चैत ९ गते बसेको शिक्षक छनोट समितिको निर्णय अनुसार सोहीदिन देखि लागू हुने गरी माध्यमिक तह तृतीय श्रेणी गणित विषयको अस्थायी करार पदमा नियुक्त गरेको थियो । विद्यालयका प्रधानाध्यापक धन बहादुर रोकायाले हस्ताक्षरित नियुक्त पत्रमा भनिएको छ, ‘शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०३९ अनुसार विद्यालय प्रशासन र प्रधानाध्यापकको मातहतमा रहेर कामकाज गर्नुहोला ।’
सोही अनुसार न्यौपानेले २०७८ चैत ९ गतेदेखि २०८० जेठ ७ गतेसम्म इमान्दारी पुर्वक अध्यापन गरेको बताउनु भयो । उहाँले भन्नुभयो शिक्षक पदबाट राजीनामा दिँदा २०७९ चैत महिना, २०८० वैशाख महिनाको मासिक र जेठ महिनाको ७ गतेसम्मको पारिश्रमिक र वर्षभरी गरेर एकमुष्ट पाउनु पर्ने पोसाक भत्ता समेत पाएको छैन ।
न्यौपाने भन्नुभयो ‘मैले मेरो सेवा गरेको अवधिको नियम अनुसार पाउनुपर्ने तलब मात्रै मागेको हो । अहिले त ऋण मागेको जस्तो भएको छ । जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारले आजित भइसकेको छु ।
तलब, महंगी भत्ता र दुर्गम भत्ता गरेर मासिक ५७ हजार ६ सय ८९ रूपैयाँ तलब सेवा सुविधा बुझ्दै आएको उहाँले बताउनु भयो । चैत र वैशाख महिनाको तलब, वर्षमा एकमुष्ट पाउनुपर्ने पोसाक भत्ता १५ हजार र जेठ महिनाको एक हप्ताको हुन आउने १३ हजार ४ सय ६० गरी कुल एक लाख ४२ हजार रूपियाँ पाउन बाँकी रहेको छ । उहाँले भन्नुभयो बारम्बार विद्यालयमा धाउदा धाउदा आफूले पाउनु पर्ने कुल रकम मध्ये ०८० असार ३१ गते ३६ हजार रुपियाँ मात्रै विद्यालयले खातामा जम्मा गरिदिएको छ । अझै एक लाख ६ हजार रूपैया पाउन बाँकी छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण न्यौपानेका अनुसार शिक्षक न्यौपानेको तलब दिन बाँकी रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो तलब नपाएको विषयमा शिक्षक न्यौपानेले मलाई पनि भन्नु भएको छ । शिक्षकको तलब गाउँपालिकासँग माग गरेका छौँ । पालिकाले माग गरेको रकम विद्यालयको खातामा आएपछि बाँकी रकम शिक्षकलाई दिने तयारी भएको छ ।
