लुम्बिनी प्रदेशका नौ जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएका छन् ।प्रदेशका १२ जिल्ला मध्ये तीन जिल्ला दाङ, कपिलवस्तु र अर्घाखाँची पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा हुन बाँकी रहेका छन् ।
प्रदेशमा पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा हुनेमा बाँके, बर्दिया, प्यूठान, रूकुम पूर्व, रोल्पा, गुल्मी, पाल्पा नवलपरासी पश्चिम र रुपन्देही जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा प्रदेश पूर्णखोप दिगोपना सुनिश्चितता समन्वय समितीका सदस्य सचिव डा. विनोद गिरीले बताउनु भयो ।
पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा हुनका लागि १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चितता गरिएपछि जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गरिने डा गिरीले बताउनु भयो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बिगतको समयमा महामारीकोरुपमा आउने सरूवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटना बाहेक पूर्णरुपमा अन्त्य गरिएको बताउदैे महामारीबाट हुने मृत्युको सङ्ख्यालाई घटाउन पूर्ण खोप दिगोपना सुनिश्चितता महत्वपूर्ण भएको बताउनु भयो ।
स्वास्थ्य मन्त्री खनालले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्न खट्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका भएको भन्दै ‘सीमित बजेटका कारण स्वास्थ्य क्षेत्रमा अपेक्षित काम गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सबै बालबालिकाले नेपाल सरकारले प्रदान गरेका सबै खोप पाउन भन्ने उद्देश्यका साथ २०६९ सालबाट पूर्ण खोपको अभियानको सुरूवात लुम्बिनी प्रदेशको नवलपरासी पश्चिमबाट गरिएको थियो ।
पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा जिल्ला बनाउनका लागि हरेक वर्षको माघ, फागुन र चैत गरी तीन महिला खोजेर खोप लगाउ अभियान सञ्चालन हुन्छ । यी महिनामा विभिन्न कारणले खोप लगाउन छुटेका पाँच वर्ष मुनीका बालबालिकाहरुलाई घरमै गएर महिला स्वास्थ्य स्वमसेविकामार्फत खोजेर खोप लगाइन्छ ।
घरमै गएर खोजेर खोप लगाउने अभियानको सुरूवात २०७७ देखि चेक लिष्टको आधारमा घरमै गएर खोप लगाउने व्यवस्था गरिएको डा. गिरीले बताउन भयो ।
प्रदेश पूर्ण खोप दीगोपना सुनिश्चितता समन्वय समितीका अनुसार आगामी भदौ महिनाको अन्त्यसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्लालाई पूर्ण खोप दीगोपना सुनिश्तिता जिल्ला घोषणाका लागि प्रयास भइरहेको छ ।