जिल्लामा मादक पदार्थको सेवनका कारण घरेलु हिंसाका घटनाहरुमा वर्षेनि बृद्धि हुदै गएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, अछामको तथ्याङ्क अनुसार आर्थिक २०७८ / २०७९ मा जिल्ला प्रहरी कार्यालयमा ३९ ओटा घरेलु हिंसाका उजुरी दर्ता भएकोमा आर्थिक वर्ष २०७९ / २०८० मा या सङ्ख्या बढेर ५३ पुगेको पाइएको छ ।
घरेलु हिंसामा बृद्धि हुनुको मुख्य कारण जिल्लामा मादक पदार्थको सेवन अत्याधिक मात्रामा बढ्नु रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाससिंह विष्टले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्षमा ३९ ओटा उजुरी मध्ये ३७ ओटा उजुरीको मिलापत्र भएको र दुई ओटा उजुरी जिल्ला अदालतमामा दर्ता भएका, गत आर्थिक वर्षमा दर्ता भएका ५३ ओटा उजुरी मध्ये ३७ उजुरीमा मिलापत्र, १४ ओटा उजुरी जिल्ला अदालतमा दर्ता र दुई ओटा उजुरी चालु आर्थिक वर्ष २०८० / ०८१ को लागि सरेको इन्स्पेक्टर विष्टले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने धेरैजसो घरेलु हिंसाका उजुरी मध्ये मादक पदार्थ सेवनका कारण धेरै उजुरी आउने गरेको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने महिला हिंसाका उजुरी मध्ये अधिकाशं उजुरी मादक पदार्थ सेवन गरेर पत्नीमाथि कुटपिटका घटना आउने गरेकोे जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी सन्तोश पाठकले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘श्रीमानले मादक पदार्थ सेवन गरेर यातना दिनेलगायतका घटना बढी आउने गरेका छन् । प्रहरीमा आएको उजुरी मध्ये मादक पदार्थ सेवन गरी गालिगलौज तथा कुटपिट गर्ने, घरायसी झैँझगडालगायतका घटना रहेका छन् । वेरोजगारी, अशिक्षा, चेतनाको कमिका कारण पनि हिंसाका घटनाहरु वढ्दै गएका छन् । अधिकाशं हिंसाका घटनाहरुमा मिलापत्र हुने भएकोले त्यसले पुनः हिंसा जन्माउने गरेको छ । महिला हिसांका घटना न्युनिकरण गर्न प्रहरीले घरेलु मदिराको नष्ट, विद्यालयदेखि गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।’
महिला हिंसाका घटना संख्यात्मक रुपमा बढेदै गएको र अधिकाशं घटनाहरु सार्वजनिक समेत नहुने गरेको अधिवक्ता खड्क खड्काले बताउनु भयो ।
विगतको तुलनमा हिंसा सहेर बस्नु हुदैन भन्ने चेतनाको विकास भएका कारण उजुरी दर्ता हुने क्रम बढेको भए पनि महिलाहरुको सुरक्षाको सुनिश्चितता नभएका कारण अदालतसम्म पुगेका मुद्दामा पनि पीडित महिलाहरुले वयान परिवर्तन गर्ने गरेका कारण न्याय पाउन नसकेको अधिवक्ता खड्काको भनाइ छ ।
महिलाको आर्थिक अवस्था कमजोर हुँदा महिलामाथि विभिन्न प्रकारका हिंसा हुने गरेको र सामाजिक, आर्थिक, राजनीतिक रुपमा पनि महिलाहरु हिंसामा पर्ने गरेको अधिकारकर्मी पशुपति कुँवरले बताउनु भयो ।
साँफेबगर नगरपालिकाका निवर्तमान उपप्रमुख विर्मला वुड्थापाले महिलामाथि हुने हिंसाका घटनामा न्युनिकरण गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सञ्चालन गर्दै आएका जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र कानुनको प्रभावकारी कार्यान्वयन भएमा हिंसाका घटनामा कमि आउने बताउनु भयो ।
उहाँले महिलामाथि हुने हिंसाका घटनाहरुमा कमि ल्याउनको लागि स्थानीय न्यायिक समितिले पनि प्रभावकारी रुपमा काम गर्न आवश्यक भएको बताउनु भयो ।