जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
सदरमुकाममा रहेको चौतारा अस्पतालमा तीन जना स्थायी र सात जना अस्थायी गरी १२ जना चिकित्सकको दरबन्दी रहेको छ । तर दुई जना स्थायी र पाँच जना अस्थायी गरी सात जना मात्र कार्यरत रहेका छन् । पाँच जना चिकित्सक खाली हुँदा सेवा प्रवाहमा समस्या भएको चौतारा अस्पतालका प्रमुख डा. त्रिभुवन झाले बताउनु भयो । विभिन्न समयमा विभिन्न रोगको प्रकोपहरू देखा पर्छ तर चिकित्सकको अभावमा सेवा पुर्याउन समस्या भएको प्रमुख डा. झाले जानकारी दिनुभयो ।

पाँच जनाले जागिर छाडेर गएकाले खाली भएको र खाली दरबन्दीमा बागमती प्रदेश सरकारले विज्ञापन गरी भर्ना गर्नु पर्ने हो, तर विज्ञापन नभएको धेरै समय भएको चौतारा अस्पतालका सूचना अधिकारी चुडामणी पुरीले बताउनु भयो ।
यस चौतारा अस्पतालमा सरकारी स्वीकृत भएको १५ सैया हो तर बिरामीको चापको कारणले ३७ बेड राखेर सञ्चालन गर्नु परेको चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिनुभयो ।
अस्पतालमा दैनिक १ सय ५० जना सम्म बिरामीहरू सेवा लिन आउने गरेको अध्यक्ष कार्कीले बताउनु भयो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्रीलाई भेट गरेरै चिकित्सक पठाइदिन धेरै पटक अनुरोध गरेको तर प्रक्रियामा रहेको अध्यक्ष कार्कीले उल्लेख गर्नुभयो ।
अस्पतालमा अति जरुरी रहेको बाल रोग र स्त्री रोगसम्बन्धी विषयका चिकित्सकहरू नहुँदा झन् समस्या भएको सूचना अधिकारी चुडामणी पुरीले बताउनु भयो ।
