सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा छिटो टुङ्गो लगाउन काठमाडौँ जिल्ला अदालतको नाममा आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको ०८० साउन ९ गते बसेको इजलासले चलाउनेमाथि आक्रमणको घटनाका आरोपितविरूद्धको मुद्दा छिटो टुङ्गो लगाउन जिल्ला अदालतका नाममा आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते नेविसङ्घका तत्कालिन त्रिवि इकाई अध्यक्ष हरि आचार्य, योगेन्द्र रावल, रुपेश शाह, निरज लामा लगायत सात जनाले फलामको रड प्रहार गर्दै निर्घात कुटपिट गरेका थिए ।
उक्त घटनामा नेविसङ्घ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायतमाथि जिल्ला अदालत काठमाडौँमा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
चलाउनेले दायर गरेको मुद्दाको सुनुवाईका लागि ०८० असार ५ गते अदालतमा पेशी परेको थियो । तर सरकारले प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उपप्राध्यापक चलाउनेले सर्वोच्च अदालतमा असार ६ गते दायर गर्नुभएको रिटमा असार ७ गते सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले सुनुवाई गर्दै सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
त्यस्तै सर्वोच्चले आक्रमणबाट पीडित चलाउनेलाई १ लाख रुपियाँ अन्तरिम क्षतिपुर्ति दिलाउन पनि आदेश दिएको छ । आरोपितहरूमध्ये सयुज श्रेष्ठ र रविन कुमार लामाले क्षतिपुर्तिको रकम नदिएको भन्दै न्यायाधीशद्वयको इजलासले आरोपित विद्यार्थी नेताहरूले अन्तरिम क्षतिपुर्ति नदिएको तथा अदालतको तारिख गुजारेर बसेको भन्दै आवश्यक कारबाहीको निर्णय लिन समेत जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।