महादेवा गाउँपालिका–२ अकवरपुरकी ३० वर्षीया पार्वतीदेबी खंगको साउन ७ गते राति उनकै ३५ वर्षीय पति रामरुप खंगले हत्या गरेको आरोपमा महादेवा गाउँपालिका–४ की मृतककी ६२ वर्षीया आमा मुनीदेबी खँगले जिल्ला प्रहरी कार्यालयमा ०८० साउन ८ गते उजुरी दिनु भयो ।
घरायसी विवादमा लाठ्ठी र फलामको रड प्रहार गरी पत्नी पार्वतीको हत्या गरेको तथा आमा ६२ वर्षीया सन्तोलियादेबी खंगलाई गम्भिर घाइते बनाएको इन्स्पेक्टर प्रमोद खडकाले बताउनु भयो ।
शवको पोष्टमार्टम साउन ८ गते गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भयो । घरबाट १६ हजार रुपियाँ लिएर बाहिरिन खोजेका लागु औषध सेवनकर्ता आरोपितलाई रोक्न खोज्दा उनले परिवारका सबै सदस्यहरूलाई कुटपिट गरेर घाइते बनाएको रामचरित्र खंगले बताउनु भयो । पत्नीको हत्या गरेर भागेका आरोपितलाई गाउँलेहरूले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
आरोपितको आक्रमणमा परी उनकै आमा ६२ वर्षीया सन्तोलियादेबी खंग गम्भिर घाइते अवस्थामा रहनु भएको अस्पतालले जनाएको छ । टाउको फुटेकाले अत्यधिक मात्रामा रगत बगेर राजविराजस्थित छिन्नमस्ता अस्पतालको आइसीयूमा उपचाररत उनलाई तत्कालै “ओ पोजिटिभ” रगतको आवश्यक्ता भएको अस्पतालका आईसीयू इन्चार्ज अमन चौरसियाले बताउनु भयो ।