राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित माइत बसेकी २० वर्षीया साबिया प्रविणको गर्भपतन उनकी २३ वर्षीया भाउजु ममदा भनिने पलिया खातुनले गराएको उजुरीसहितको परमादेश पत्र साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
उजुरीकर्ता अकबर अलीसहित जिल्ला प्रहरी कार्यालय पुग्नुभएका इन्सेकका पूर्व प्रतिनिधि मनोहरकुमार पोखरेलले अदालतको परमादेशको प्रमाणित प्रतिलिपीसहितको पत्र बुझाउनु भएको हो ।
पीडित पक्षले दिएको उजुरी दर्ता गरी कारवाही अगाडि बढाउन उच्च अदालत जनकपुर राजविराज इजलासले जेठ २६ गते गरेको परमादेश असार २९ गते प्रमाणिकरण भएपछि अदालतले साउन ७ गते प्रमाणित प्रतिलिपीसहितको जानकारी पत्र जिल्ला प्रहरी कार्यालयलाई पठाएको हो । अदालतको पत्र बुझेको भर्पाई गर्दै प्रक्रिया पुरा गरी उजुरी दर्ता गरिने मुद्दा शाखाले जनाएको छ ।
गर्भवती भएपश्चात आराम गर्न माइत आएकी १७ हप्ताको गर्भ बोकेकी साबियालाई ०७९ फागुन २१ गते उनकी भाउजु पलिया खातुनले कुटपिट गरी भुईमा लडाउँदा गर्भपतन भएको थियो । कुर्सीमा आराम गरेर बसिरहेकी पीडितलाई धकेलेर लडाउँदा पेटमा चोट लागेपछि डाक्टर उषा देवसँग परीक्षण गराउँदा पेटमा बच्चा नचलेको बताएपछि उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो । फागुन २२ गते पीडितको चेकजाँच अल्ट्रासाउण्ड परीक्षण गराउँदा गर्भमा मृत्यु भइसकेको अस्पतालले जनाएको थियो ।
तत्काल राजदेबी चोकस्थित प्रहरी बिटमा घटनाबारे जानकारीसहितको निवेदन दिएकी पीडितले पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडितका बुबा अकबर अलीले ०७९ चैत १ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिनु भएको थियो । पीडितले चैत १२ गते जिल्ला सरकारी वकिल कार्यालय र ०८० वैशाख ७ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयलाई रजिष्ट्री पत्र पठाएको थियो । प्रहरीले उजुरी दर्ता नगरी कारवाही प्रक्रिया अगाडि नबढाए पछि पीडितले उच्च अदालत समक्ष परमादेशका लागि निवेदन दिनु भएको थियो । उच्च अदालतका न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र तेजनारायण सिंह राईको संयुक्त इजलासले जेठ २६ गते गरेको परमादेश असार २९ गते प्रमाणिकरण भएको हुँदा अदालतले प्रमाणित प्रतिलिपीसहितको पत्र साउन ७ गते जानकारीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको हो ।