INSEC Online

📅 २०८३ जेष्ठ २१

धरानमा डेङ्गीका बिरामी अत्यधिक, टेष्ट किट उपलब्ध गराउन तीन तहका सरकारलाई आग्रह

धरान उपमहानगरपालिका–११, १५ र १७ का स्थानीयमा डेङ्गीको सङ्क्रमण अत्यधिक पाइएको छ ।

घोपामा डेङ्गी जाँचका लागि सञ्चालित क्लिनिक
घोपामा डेङ्गी जाँचका लागि सञ्चालित क्लिनिक

डेङ्गीका विरामीहरूको चाप बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपाले डेङ्गी टेष्ट(र्‍यापिड) किट उपलब्ध गराउन तीन तहका सरकारलाई आग्रह गरेको छ ।

धरान उपमहानगरपालिका दिएको ५ सय थान डेङ्गी टेष्ट किट सकिन लागेपछि प्रतिष्ठानले थप किटका लागि धरान उपमहानगरपालिका, प्रदेश स्वास्थ्य मन्त्रालय र सङ्घीय स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।

धरान उपमहानगरपालिकाबाट थप २ सय थान, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालयलाई २ हजार थान किट उपलब्ध गराउन  आग्रह गरिएको किट उपलब्ध गराउने आश्वासन प्राप्त भएको प्रतिष्ठानका सहप्रवक्ता तथा डाक्टर चुडामणि पोखरेलले बताउनु भयो ।

धरानमा डेङ्गीको प्रकोप फैलिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेङ्गी क्लिनिक सञ्चालनमा ल्याएको छ ।

डेङ्गीका विरामीहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानले अलग्गै डेङ्गी क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालकी सूचना अधिकारी अञ्जु प्रधानले बताउनु भयो ।

प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिकासँगको सहकार्यमा छुट्टै डेङ्गी क्लिनिक सञ्चानलमा ल्याइएको हो । क्लिनिकमा प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्सलगायत जनशक्तिको व्यवस्था गरिएको छ । अस्पताल प्रशासनका अनुसार क्लिनिक सातै दिन सञ्चालनमा हुनेछ । क्लिनिकमा आउने विरामीहरूका लागि डेङ्गीको परीक्षण निशुल्क गरिएको सूचना अधिकारी प्रधानले बताउनु भयो ।

क्लिनिकमा आउनेमध्ये ८० प्रतिशतमा डेङ्गी सङ्क्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिका वडा–११, १५ र १७ मा बढी डेङ्गीका सङ्क्रमितहरु पाइएको छ ।

डेङ्गी क्लिनिकमा किटको माध्यमबाट परीक्षण गरी डेङ्गी भए नभएको तुरुन्तै पत्ता लाग्ने डाक्टर चुडामणि पोखरेल बताउनु भयो । परीक्षणबाट डेङ्गी सङक्रमित देखिएमा अन्य आवश्यक जाँच तथा परीक्षणका लागि प्रतिष्ठानको ल्याबमा पठाउने गरिएको डाक्टर पोखरेलको भनाइ छ ।

रक्तचापमा कमी हुनु, मुटुको धड्कन बढ्नु, गिजा तथा शरीरमा आएका डाबरहरुबाट रक्तश्राव हुनु, छिनछिनमा वान्ता हुनु, पेट दुख्नु आदि लक्षण डेङ्गीका लक्षण भएको डाक्टर पोखरेलले बताउनु भयो ।

नेपालको संविधान , २०७२ ले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो