INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षका प्रत्यासी तथा अभियानकर्मीमाथि गाउँपालिकामा कुटपिट

रुपनी गाउँपालिका–१ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा ‘भ्रष्टाचार र लागुपदार्थ मुक्त रूपनी गाउँपालिका’ को अभियान चलाइरहेका ३७ वर्षीय राजु भनिने किरणकुमार जयसवालमाथि गाउँपालिका कार्यालय अगाडि असार २४ गते गाउँपालिका अध्यक्ष ४८ वर्षीय दिनेशकुमार यादवको निर्देशनमा निवर्तमान वडा अध्यक्ष पिताम्बर यादव र गाउँपालिकाको सवारी चालक रामयादवले कुटपिट गरेको पीडितले बताउनु भएको छ ।

गाउँपालिका कार्यालयमा सेवा लिन पुगेको बेला गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा आरोपितहरूले आक्रमण गरेको जयसवालले आरोप लगाउनु भएको हो । अध्यक्ष यादवले कमिजको कलर समातेको, चालक यादवले पछाडिबाट समातेको र पिताम्बरले कुटपिट गरेको जयसवालले बताउनु भयो ।

वडा नम्बर ५ का वडा अध्यक्ष गंगाराम यादवसँग भेटघाट गर्न गाउँपालिका कार्यालय गएको थिए, जयसवालले भन्नुभयो–“गाउँपालिका अध्यक्ष यादवले अख्तियारमा निवेदन दिने, सामाजिक सञ्जालमा जथाभावी लेख्ने भन्दै हप्काए र तुरुन्तै निवर्तमान वडा अध्यक्षलाई फोन गरी बोलाएर कुट्न लगाए ।”

असार २३ गते राति गाउँपालिकाको स. १ झ ५१८ नम्वरको स्कोरपिओ गाडी दुर्घटनामा परी क्षतिपुगेको विषयमा जयसवालले आफ्नो फेसबुकमा लेख्नु भएको थियो–“आर्थिक बर्ष रुपनी गाउँपालिकाको गाडिलाई लागेको छ । मध्यराति कमिसन लिने, दिने, भाग्ने र रोक्ने, छेक्ने, दुर्घटना आदि इत्यादी जे–जे प्रवृत्ति भनेपनि शिकार रुपनी गाउँपालिकाको सरकारी गाडी “५१८”भएको छ ।”

कुटपिटका क्रममा गाउँपालिका अध्यक्ष यादवले आफ्नो मोबाइल नियन्त्रणमा लिएको जानकारी दिनुहुँदै जयसवालले भन्नुभयो– “आरोपितहरूले कुटपिट गर्दा वडा नम्बर २ का २८ वर्षीय सरोजकुमार यादव, वडा नम्बर ३ का अध्यक्ष ७३ वर्षीय अमर मुखिया, वडा नम्बर ४ का अध्यक्ष ३५ वर्षीय छेदी इसर, वडा नम्बर ५ का अध्यक्ष ४६ वर्षीय गंगाराम यादवलगायतका जनप्रतिनिधिहरू समेत प्रत्यक्षदर्शी छन् ।”

जयसवाल २०७९ को स्थानीय तह निर्वाचनमा रुपनी गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) बाट वडा अध्यक्षका उम्मेदवार थिए । उक्त निर्वाचनमा निवर्तमान वडा अध्यक्ष पिताम्बरकी पत्नी लीला यादव लोसपा नेपालबाट निर्वाचित हुनु भएको थियो ।

राजविराजबाट आउँदै गरेको गाउँपालिकाको गाडी दुर्घटनामा परेको स्वीकार गर्दै गाउँपालिकाका अध्यक्ष यादवले जयसवाललाई कुटपिट नगरेको तर भनाभन र विवाद भएको बताउनु भयो । सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो