अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको संयुक्त आयोजनामा सञ्चालित मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम असार २४ गते काठमाडौँमा सुरु भएको छ । एक सातासम्म सञ्चालन हुने तालिममा सशस्त्र प्रहरीका डिएसपी इन्स्पेक्टर सई र असई गरी २५ जनाको सहभागिता रहेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा सञ्चालित तालिमको उद्घाटन सत्रमा एसएसपी युवराज अर्यालले कार्यस्थलमा खटिने क्रममा मानव अधिकार पालनाका लागि यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्नु भयो । मानव अधिकार शिक्षाका लागि इन्सेकसँग थुप्रै अनुभव रहेको बताउँदै इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले सशस्त्र प्रहरीसँगको सहकार्यमा मानव अधिकार प्रशिक्षक प्रशिक्षण सञ्चालनले सहकार्यको ढोका खोलेको बताउनु भयो ।

तालिममा इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारी, गैरसरकारी संस्था महासङ्घ नेपालकी उपाध्यक्ष भावना भट्ट, मानव अधिकार विज्ञ अच्युत आचार्यलगायतले सहजीकरण गर्नुहुनेछ ।


