INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात रोगले एकजना बालिकाको मृत्यु, १ सय ७८ जना बिरामी

एक हप्तादेखि तिलागुफा नपा–१० रुडु र रानावाडा गाउँमा फैलिएको अज्ञात रोगबाट १३ वर्षीया बालिका कर्मा थापाको असार २० गते विहान मृत्यु भएको छ । सोही ठाउँमा अज्ञात रोगकै कारण १ सय ७८ जना बिरामी परेका हुन् ।

१० देखि  १२ वर्ष सम्म उमेरका बालवालिकाहरुलाई ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिन,टन्सील हुने लक्षण रहेको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका सूचना अधिकारी कटक महतले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी गराउनु भएको छ ।

उहाँका अनुसार महादेव माध्यमिक विद्यालय रुडुमा कक्षा –६ मा पढ्ने बालिकाको मृत्यु भएको र धेरैको संख्यामा बालबालिकाहरु सिकिस्त बिरामी भएको नगरपािलकाबाट जानकारी आएपछि डा.रामानन्द चौधरीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट खटाइएको छ ।

हालसम्म कुनै रोग पत्ता लागेको छैन भने गाउँमा थप रोग फैलिने त्रास बढिरहेको छ । लगातारकाे ज्वरोले बालिकाको मृत्यु भयो,गाउँ भरी बिरामी भएका छन’ सोही वडाका अध्यक्ष मुनबहादुर थापाले बताउनु भयो ।

बालबालिकामा फरक रोग देखिएकाले तिलागुफा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयलाई खबर पठाइएको जानकारी दिए । उनका अनुसार केही बालबालिकालाई अभिभावकले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र केहीलाई उपचार गर्न सुर्खेत लगेको पनि उहाँले बताउनु भयो ।

अज्ञात रोकै कारण बालविकास केन्द्रमा पढ्ने १३, कक्षा १ का २१, कक्षा २ का ९, कक्षा ३ का १८, कक्षा ४ का १२, कक्षा ५ का १६, कक्षा ६ का ५, कक्षा ७ का १२,  कक्षा ८ का १३,  कक्षा ९ का ७ र १० कक्षाका ४ जना गरी १ सय ३० जना बिरामी परेको विद्यालयका निमित्त प्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी दिनु भयो ।

रुडु गाउँमा अज्ञात महामारी फैलिएपछि एक जना बालिकाको मृत्यु भएको, ५१ जना बिरामी परेको, बिरामीमध्ये २९ जना जुम्लामा भर्ना भएका र १८ जना प्रदेश अस्पताल सुर्खेतमा गएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनु भयो ।

अन्य

भिडियो