INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र प्राविधिक उपेन्द्र साउदमाथि हातपात गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भुनसिंह केसीका छोरा दिलिप केसीलाई ०८० असार २१ गते साँझ गिरफ्तार गरेको छ ।

बुढीगंगा नगरपालिकाको ७ नम्वर वडामा सञ्चालिन केही योजनाहरु काम पुरा नगरी सवै विल उठाउनु पर्ने भन्दै असार २१ गते नगरपालिकाको कार्यालयमै आएर केसीले आफूहरुमाथि हातपात तथा गालिगलौज गर्ने कार्य गरेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनु भयो ।

फागुन महिना मै सम्झौता भएको योजना समयमै काम सुरु नगरेर असार दोस्रो हप्तादेखि काम सुरु गरेको र काम समय मै नसकिने भएपछि केसीले प्राविधिकलाई सबै विल उठाएर रकम भुक्तानी दिनु पर्ने भन्दै गालिगलौज र हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत नाथले बताउनु भयो ।

उहाँले कार्यालयमा काम गरिरहेको समयमा कार्यालयमै प्रवेश गरी आफूलगायत कार्मचारीमाथि हातपात गर्ने र गालिगलौज गर्ने व्यक्ति विरुद्ध सार्वजनिक मुद्दा अन्तर्गत उजुरी दिने तयारी गरिएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी कबिन्द्र बोहोराका अनुसार कर्मचारीलाई हातपात तथा गालिगलौज गरेको जानकारी प्राप्त भएपछि असार २१ गते नै आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनु भयो ।

उहाँले जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षलाई पनि बोलाइएको र पीडित पक्षको उजुरीका आधारमा घटनाको छानविन तथा कार्वाही प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

नेपाल निजामती कर्मचारी संगठनले असार २२ गते विज्ञप्ति जारी गर्दै राष्ट्र सेवक कर्मचारीमाथि कुटपिट, हातपात र गालिगलौज गर्नेहरुलाई कानुन बमोजिम कार्वाही गर्न माग गरेको छ ।

अन्य

भिडियो