INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारसँग उपचार खर्च र राहतको माग गर्दै जोशी २० दिनदेखि अनशनमा

कैलालीको पथरैयामा प्रहरीले ०७३ फागुन ३ गते प्रहार गरेको गोली लागि घाइते हुनुभएका २६ वर्षीय विरेन्द्र जोशी सरकारसँग उपचार खर्च र राहतको माग गर्दै २० दिनदेखि अनशनमा बस्नुभएको छ ।

उपचार खर्च र राहतको माग गर्दै जोशीले ०८० असार १ गतेदेखि माइतीघर मण्डलामा अनशन सुरु गर्नुभएको थियो । माइतीघर मण्डलामा अनशन बस्दाबस्दै स्वास्थ्यमा समस्या आएपछि असार १२ गते वीर अस्पतालमा उपचार गर्न जानुभएपछि जोशी सोही दिनदेखि अस्पतालको मेल वार्डको बेड नं. १ सय ४२ मै अनशन बस्नुभएको हो ।

अनशनरत जोशीका अनुसार ०७३ फागुन ३ गते कैलालीको जानकी गाउँपालिकाको पथरैयामा काठ तस्करले गस्तीमा रहेका प्रहरीमाथि गोली चलाएर निर्घात कुटपिट गरेका थिए । प्रहरीको सोही गस्तीमा खटिएका असई बृजलाल चौधरी पनि तस्करको कुटपिटबाट घाइते भएर सडकमा लड्नु भएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि प्रहरी जवान गणेश सेट्टीले उद्दार गर्न गाउँलेसँग अनुनय गर्नुभएको थियो ।

प्रहरीले बचाउन सहयोग मागेपछि गाउँलेसँगै विरेन्द्र पनि घटनास्थल जानुभएको थियो । सोही क्रममा तस्करको कुटपिटबाट घाइते हुनुभएका असई बृजलालले उद्दार गर्न गएका गाउँलेलाई तस्करको समूहका मानिस ठानेर आफूलाई गोली प्रहार गरेको जोशीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

प्रहरीको गोली प्रहारबाट घाइते हुनुभएका जोशी टिकापुर अस्पतालमा प्राथमिक उपचारपछि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा दुई महिनाको उपचार गरेपछि घर फर्किनुभएको थियो ।

सुरुमा लागेको उपचार खर्च गृह मन्त्रालयले तिरिदिए पनि त्यसपछिका सात वर्षसम्म लागेको उपचार खर्च र औषधि खर्च तिर्न सरकारले सहयोग नगरेको जोशीको गुनासो छ । आफूले उपचार खर्च र औषधिको रकम निकासीको लागि ०७८ सालमा गृह मन्त्रालयमा ८ लाख ५० हजार रुपियाँ माग गर्दै निवेदन दिएको जोशीले बताउनु भयो ।

त्यस्तै ०७४ असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले ५० हजार रुपियाँ राहत दिने निर्णय गरे पनि आफूले अहिलेसम्म त्यो रकम प्राप्त नगरेको जोशीले उल्लेख गर्नुभयो । माइतिघर मण्डला र अस्पतालमा अनशन बस्दा पनि आफूलाई भेट्न राज्यका कुनै निकाय र अधिकारीहरू नआएकोमा जोशीको गुनासो छ ।

जोशीलाई हेरचाह गर्दै आउनुभएकी उहाँकी पत्नी राधिका जोशीले गोली लागेकै कारण आफ्ना पतिको शरीरले काम गर्न नसक्ने भएकाले परिवारको भरण पोषणको लागि सरकारले राहत उपलब्ध नगराएको जानकारी दिनुभयो । राधिकाले पति अथवा परिवारको एक सदस्यलाई सरकारको तर्फबाट स्थानीय स्तरमै स्थायी रोजगारीको व्यवस्था भैदिए आफूहरूलाई सहज हुने बताउनु भयो ।

वीर अस्पतालको बेडमा अनशनरत जोशीले सरकारले आफूलाई राहत रकम र उपचार खर्च नदिएसम्म अनशन नत्याग्ने उल्लेख गर्नुभयो ।

Photo_080-3-20_Kathmandu1

अन्य

भिडियो