दलित भएका कारण घर निकाला गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१७ का ६८ वर्षीय ताराप्रसाद पोख्रेललाई असार १७ गते गिरफ्तार गरेको छ ।
आरोपितले हुम्ला जिल्ला अदानचुली गाउँपालिका–३ का २३ वर्षीय अंगराज परियार, अछाम जिल्ला पञ्चदेवल नपा–७ घर भइ हाल दाङको घोराही उपमनपा–१७ बस्दै आएका २३ वर्षीय महेन्द्र बिक र उनकी पत्नी २३ वर्षीय शान्ति बिकलाई जातीय विभेद गरी घरबाट निकालेको भन्दै पीडितहरूले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
दाङको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीनैजना ६ महिना देखि पोख्रेलको घरमा भाडामा बस्दै आउनु भएको थियो । असार १४ गते तिमीहरू दलित रहेछौ, मैले दलितलाई घर भित्र पस्न दिएको थिएन । तिमीहरूका कारणले म बिरामी भए भन्दै कोठाको समान निकालेर फालिदिएपछि पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनराज गौतमले जानकारी दिनुभयो ।
जातीय विभेदको घटनाको विरोध गर्दै दलित पत्रकार संघ, दाङलगायत विभिन्न संघ संस्थाहरूले दोषीमाथि कारबाहीको माग गरेका छन ।