INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशका दुई ओटा स्थानीय तहले समयमै बजेट ल्याउन सकेनन्, आन्तरिक विवाद र कलह प्रमुख कारक

स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले हरेक वर्षको नीति तथा कार्यक्रमसहित असार १० गते भित्र बजेट प्रस्तुत गर्नु पर्ने कानुनी व्यवस्था भए पनि सुदूरपश्चिम प्रदेशका दुई ओटा स्थानीय तहले हालसम्म पनि बजेट प्रस्तुत गर्न नसकेको अवस्था छ । जनप्रतिनिधि र कर्मचारीहरुबिचको अन्तरिक विवाद तथा कलहका कारण सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहमध्ये दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका र बझाङ जिल्लाको थलरा गाउँपालिकाले हालसम्म पनि आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गरेका छैनन् ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार जिल्लाका १२ ओटा स्थानीय तहमध्ये थलारा गाउँपालिकाले २०८० असार १० गतेसम्म पनि वार्षिक बजेट ल्याउन सकेको छैन् । थलारा गाउँपालिकामा वडाध्यक्षसँग गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको विवाद भएकाले बजेट प्रस्तुत हुन नसकेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले प्रमुख प्रशाशकीय अधिकृत र वडाध्यक्षहरूबिच बजेटको बिषयमा कुरा नमिलेपछि बजेट ल्याउन नसकिएको बताउनु भयो । उहाँले प्रशासकीय अधिकृतले वडाध्यक्षमाथि अभद्र व्यवहार गरेको भनेर वडाध्यक्षले गाउँपालिकामा निवेदन दिएपछि बजेट प्रस्तुत गर्न नसकिएको र यस  बिषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाईएको बताउनु भयो । बजेट कहिले प्रस्तुत हुन्छ भन्ने टुङ्गो नलागेको र  गाउँपालिकाका जनप्रतिनिधि र  वडाध्यक्षहरूको कुरा नमिल्दा समयमा बजेट ल्याउन नसकेको थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले बताउनु भयो ।  आफ्नो र वडाध्यक्षहरूको सामान्य भनाभन भएको र सोहि कुराले बजेट ल्याउन नरोकिएको अधिकृत पण्डितको भनाइ छ । यता गाउँपालिका उपाध्यक्ष रामबहादुर खातिले सबै बजेट वडामा दिनु पर्ने वडाध्यक्षहरूले माग गरेपछि बजेट प्रस्तुत गर्न नसकिएको बताउनु भयो ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार शैल्यशिखर नगरपालिकाले आगामि आर्थिक वर्ष ०८० / ०८१ को लागि बजेट ल्याउन सकेको छैन् । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भए पनि नगरपालिकाले भने बजेट ल्याउन सकेको छैन् ।  जनप्रतिनिधिबिच बजेट ल्याउने विषयमा एकमत हुन नसक्दा बजेट निर्धारित समयमा आउन नसकेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिनु भयो । जनप्रतिनिधिबिच बजेटमा देखिएको पुरानो दायित्व भुक्तानी गर्ने की नगर्ने भन्ने विषयमा समझदारी हुन नसक्दा निर्धारित समयमा बजेट आउन नसकेको उहाँले बताउनु भयो । शैल्यशिखर नगरपालिका उपप्रमुख शान्ति खडायतले विगतका सरकारले व्यय नगरेको रकम अहिले पूरै भुक्तानी गर्नु पर्ने गरी प्रस्ताव आएपछि सहमति हुन नसकेको बताउनु भयो । आफूले नगरसभामा बजेट प्रस्तुत गर्नु पर्नेमा कुनै समन्वय भएन् । झन उल्टो विगतकै व्ययभारमा खर्च हुने गरी बजेट ल्याउँदा आगामि आर्थिक वर्षमा नयाँ कार्यक्रम केही गर्न सकिने अवस्था रहेन उहाँले भन्नु भयो । यस्तो अवस्थामा सबै कार्यपालिका सदस्यहरुले यस्तो अवस्थामा बजेट ल्याउन नहुने सुझाव दिएपछि रोकिएको बताउनु भयो । बजेटको बारेमा थप गृहकार्य गरेर ल्याउने तयारी गरिएको उहाँको भनाइ छ  ।

अन्य

भिडियो