सिदिङ्वा गाउँपालिका–६ स्थित मेहेले स्वास्थ्य चौकी पहिरोले बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

पहिरोले स्वास्थ्य चौकी भवन बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकी इञ्चार्ज मदन लिङदेनले बताउनु भयो ।
स्वास्थ्य चौकी इन्चार्ज मदन लिङदेनले भन्नुभयो ‘स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री निकाल्न सकेका छैनौँ, ०८० असार २ गतेको भारी वर्षापछिको पहिरोले चौकीको भवन नै बगाउँदा समस्या भएको छ, भएजति सामान सबै ढुङ्गा माटोमै मिसियो ।’ तत्कालका लागि वडा कार्यालयको एउटा सानो कोठाबाट सेवा सुरूको तयारी गरिएको इञ्चार्ज लिङदेनले बताउनु भयो ।
पहिरोले बगााउँदा कति रकम बराबरको क्षति भएको हो, त्यसको यकिन तथ्याङ्क नभएको इञ्चार्ज लिङदेनले बताउनु भयो । उहाँले भन्नुभयो ‘कति रकम बराबरको क्षति भयो भनेर ठ्याक्कै भन्न त सक्दिन ।

नेपाली सेनाको हेलिकप्टरले असार ५ गते जिल्ला स्वास्थ्य कार्यालय र कोशी प्रदेशअन्तर्गत आपूर्ति केन्द्रबाट ल्याएको औषधि तत्कालका लागि प्रयोग गरिनेछ, इञ्चार्ज लिङदेनले भन्नुभयो । बेड, कम्प्युटर, प्रिण्टर, दराज र अन्य सामाग्री अभाव छ ।
चौकीमा ६ जना कर्मचारी छन् । एक जना इञ्चार्ज, दुई जना अहेब, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् ।
तत्कालका लागि वडा कार्यालयको सानो कोठाबाट सेवा प्रवाह गर्ने तयारी गरिएकाले सेवाग्राहीको गोपनियता कायम गर्न सकस हुने देखिन्छ, चौकी इञ्चार्ज मदन लिङदेनले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ।
सिदिङ्वा गाउँपालिका–६ का वडाध्यक्ष रत्नकुमार लिङ्देनले वडाको पहिलो प्राथमिकता नै स्वास्थ्य चौकी भवन निर्माण गर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य सेवा अति नै सम्वेदनशील छ । त्यही भएर तत्काल जग्गा छनौट गरी स्वास्थ्य चौकी निर्माण गरिने छ ।’
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पहिरोले स्वास्थ्य चौकी भवन बगाएपछि साविकको जस्तो स्वास्थ्य सेवा तत्काल प्रवाह गर्न नसकिएको बताउनु भयो । उहाँले इन्सेक प्रतिनिधिसँग भन्नुभयो– पहिलोजस्तो गरी सेवा प्रवाह गर्न तत्काल सम्भव नहोला । चाहिने औषधि तथा सामान कमी हुन दिने छैनौँ ।
बाढीपहिरोका कारण मेहेलेमा तीन जनाको ज्यान गुमाउनु परेको छ । एकै परिवारका तीन जना असार ११ गतेसम्म बेपत्ता छन् । पहिराले १३ ओटा घर पूर्ण रूपमा बगाएको छ, भने तीन दर्जन बढी घर पहिरोको उच्च जोखिममा परेका छन् ।
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकका रुपमा ब्याख्या एवम् व्यवस्था गरेको छ ।

