कक्षा १० मा अध्ययनरत १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका प्रशासन प्रमुख घोराही उप–मनपा–१५ का ३० वर्षीय मिनेश श्रेष्ठलाई ०८० असार ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले असार ४ गते आफ्नो कोठा र विद्यालय छेउमा बोलाएर धम्की र प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
यसअघि, पीडितले असार ६ गते विद्यालय प्रशासन प्रमुखले आफूमाथि दुर्व्यवहार गरेको र आफूमात्र नभइँ अन्य छात्राहरूमाथिसमेत यौनजन्य दुर्व्यवहार भएको उल्लेख गर्दै आफ्नो फेसबुक पेजमा स्टाटस् राखेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आरोपितमाथि कारबाहीको माग गर्दै असार ७ गते घोराहीमा प्रदर्शनसमेत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी राजन गौतमले पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको थियो ।