२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई असार ६ गते ७ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले आरोपितलाई ७ वर्ष कैदका साथै १० हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने र १ हजार ३ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको इजलास अधिकृत बिष्णुचन्द्र नेपालीले बताउनु भयो ।
आरोपितले ०७५ पुस २० गते र ०७६ साउन १८ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७६ साउन २६ गते उजुरी दिनुभएको थियो । प्रहरीले साउन २६ गते आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो ।
पीडितको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ०७६ साउन २७ गते स्वास्थ्य परिक्षण भएको थियो । आरोपितकै भनाईमा धरानस्थित वि.पी. कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान गई साउन १ गते चार महिनाको गर्भपतन गराएको र फागुन २७ गते कञ्चनरुप पिप्राका सियाराम सरदारसँग भएको वैवाहिक सम्बन्धपनि विच्छेद भएको पीडितले बताउनु भयो ।
जिल्ला अदालतको आदेशमा आरोपित ०७६ भदौ १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा रहेका छन् ।