सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजीलाई सरकारले तीव्र बनाएको छ । बेपत्ताहरूको खोजीका लागि २ सय ९१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेश सरकारले मृतकका परिवारलाई प्रतिपरिवार १ लाख र बाढीपहिरोमा परी घाइते भएकाहरूलाई प्रतिव्यक्ति ५० हजार रुपियाँ उपचार खर्च दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावितहरुलाई राहत सामग्री पठाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार असार २ गतेको भारी वर्षापछि आएको बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीलाई तीव्र पारिएको छ । वेपत्ता भएका २१ जना मध्ये एक जनाको शव फेला परेको र अन्यको खोजी जारी राखिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोद्दारले हेवाखोलामा बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको बताउनु भयो । चैनपुर नगरपालिका–५ स्थित निमार्णाधीन सुपर हेँवा हाइड्रोपावरका काम गर्ने १७ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको छ । बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरीबाट १ सय ७ जना, सशस्त्र प्रहरीबाट ५५ जना र नेपाली सेनाबाट १ सय २५ जना गरी २ सय ९१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खेजीमा जनप्रतिनिधि र स्थानीय युवाहरू सक्रिय छन् ।

अविरल वर्षासँगै आएको बाढीपहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथाङ्का सडक ठप्प भएको छ । जसका कारण विरामी बोकेका एम्बुलेन्सलाई आवतजावतमा समस्या भएको छ । असार ५ गते राति वर्षासँगै आएको पहिराले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले बताउनु भयो । उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख सविन कोइरालाले बताउनु भएको छ । अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा र पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने भएको छ ।
पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार असार २ गतेको भारी वर्षापछि आएको बाढीपहिरोमा परी जिल्लामा विस्थापित हुनेको सङ्ख्या ४ सय ४७ पुगेको छ । पहिरोका कारण ९५ ओटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले घर बगाएका कारण ४ सय ४७ जना विस्थापित हुनु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले बताउनु भयो । विस्थापित हुनेहरूलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापित हुनेमा सबैभन्दा धेरै याङवरक र फालेलुङ गाउँपालिका स्थानीय छन् । जिल्लामा असार ६ गतेसम्म बाढीपहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् । तीन जना बेपत्ता छन् । पहिरोका १५ ओटा पुलमा क्षति पुग्नका साथै तीन वटा विद्युत कम्पनीको बिजुली उत्पादन ठप्प भएको छ । बाढीले हेवा र तमोर खोलाको पुल बगेका कारण राहत र उद्दारमा समेत कठिनाइ भइरहेको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लाका बाढीपहिरो पीडितलाई कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारले असार ६ गते नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पठाएको हो । असार २ गतेपछिको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा तीन जनाले ज्यान गुमाउनु परेको छ । तीन जना अझै बेपत्ता छन् । ज्यान गुमाउनेहरूमा मेहेलेका गणेश तामाङ, केशरबहादुर राई र सुरेश राई हुनुहुन्छ । एकै परिवारका तीन जना भगीमाया बुडाक्षेत्री, सन्ध्या बुडाक्षेत्री र प्रज्ज्वल बुडाक्षेत्री बेपत्ता हुनुहुन्छ ।

अविरल वर्षाका कारण विशेषगरी सिदिङ्वा गाउँपालिका–६ मेहेले बाढी पहिरोको अत्यधिक जोखिममा परेको छ । लगातारको वर्षासँगै बाढीपहिरोका कारण मेहेलेमा खाद्यान्न समेत अभाव हुन थालेपछि लत्ताकपडा, टेण्टसहित स्वास्थ्य सामग्री पठाइएको प्रदेश सरकारले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले कोशी प्रदेश सरकारले स्वास्थ्य सामग्री र टेण्ट पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याइएको छ । मेहेलेमा बाढीपहिरोबाट विस्थापित भएका १ सय जना बढी स्थानीय निलगिरी माध्यमिक विद्यालयमा बसिरहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिदिङ्वा गाउँपालिका –३ आङ्खोपमा चार घर, सिदिङ्वा गाउँपालिका–६ मेहेले र ७ सुरुम्खिममा दुई–दुई ओटा घर बाढीपहिरोले क्षतिग्रस्त बनाएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा दुई घर, वडा–८ याम्फुदिनमा एक घर क्षतिग्रस्त भएका छन् । मैवाखोला गाउँपालिका–३ र वडा–४ साँघुमा एक–एक घर बाढीपहिरोले पूर्णरुपमा क्षति पुगेको छ । जिल्लामा अहिले पनि वर्षा भइरहेका कारण बेपत्ताहरूको खोजी र उद्दारमा कठिनाइ भइरहेको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुर जिल्लाको बिचमा पर्ने श्रीलङ्का टापुमा कटान तीव्र बनाएको छ । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलङ्का टापुमा बाढीका कारण कटान तीव्र भएको छ । वराहक्षेत्र नगरपालिका–६, शिबाइ टोलकी शान्ति चन्द्रवंशीले नदीमा पानीको बहाव बढेसँगै शिबाइ टोल अगाडिको क्षेत्र कटान भएको बताउनु भयो । बेलका नगरपालिका–८ अन्तर्गत पर्ने अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केही माथिबाट पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताउनु भयो । कोशी नदीले असार ६ गतेसम्म २५ मिटरभन्दा बढी कटान गरिसकेको छ । कटानका कारण बराहक्षेत्र नगरपालिका–६ र बेलका नगरपालिका–८ को मानव बस्ती उच्च जोखिममा परेको छ । कटान गरेको स्थानबाट बाढी गाउँ पसे बेलका नगरपालिकाका तीन ओटा वडाको मानवबस्ती जोखिममा पर्नेछ । बेलका–८ र ९ अन्तर्गत पर्ने सिमालटार र धौरीका साथै वडा–३ को दुर्गा बन्दी, मिलन चोक, एबीसी टप्पु, बुधबारेलगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताउनु भएको छ । कटान रोक्नका लागि तत्काल तारजाली लगाउने योजना बनाइएको मेयर कार्कीको भनाइ छ ।

फोटो स्रोत- गोरखापत्र अनलाइन