INSEC Online

📅 २०८३ जेष्ठ २१

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउने अनशनमा

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा जिल्ला अदालतबाट फिर्ता लिने सरकारको निर्णयविरूद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने त्रिवि उपकुलपति कार्यालय परिसरमा आमरण अनशसन बस्नुभएको छ ।

आफूमाथि आक्रमण गर्नेविरूद्ध उपप्राध्यापक चलाउनेले दायर गरेको ज्यान मार्ने उद्योग कसुरको मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको अवस्थामा ०८० जेठ ३० गते बसेको मन्त्रीपरिषदको बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।

त्रिविका समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते नेविसङ्घका तत्कालिन त्रिवि इकाई अध्यक्ष हरि आचार्य, योगेन्द्र रावल, रुपेश शाह, निरज लामा लगायत सात जनाले फलामको रड प्रहार गर्दै निर्घात कुटपिट गरेका थिए । उक्त कुटपिटबाट चलाउनेको टाउकोमा चोट लाग्नुको साथै दायाँ खुट्टा भाँचिएको थियो ।

चलाउनेले दायर गरेको मुद्दाको सुनुवाईका लागि ०८० असार ५ गते अदालतमा पेशी परेको थियो । तर सरकारले प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता लिनका लागि जिल्ला अदालतमा असर ३ गते निवेदन दर्ता गराएको थियो ।

सरकारको सोही निर्णयविरूद्ध चलाउने असार ४ गते जिल्ला अदालतमा अनशन बस्न जानुभएको थियो । अनशन बस्न लाग्नुभएका चलाउनेलाई प्रहरीले तत्कालै गिरफ्तार गरेर प्रहरी वृत्त सिंहदबारमा लगेपछि बेलुकी ५ बजे छाडेको थियो ।

इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा कुरा गर्दै उपप्राध्यापक चलाउनेले प्रहरीले अदालत परिसरमा अनशन बस्न नदिएपछि न्यायका लागि आफू त्रिवि उपकुलपति कार्यालय अगाडि अनशन बसेको बताउनु भयो । सरकारले नै निर्णय फिर्ता लिने निर्णय गरेर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएपछि न्यायको आस मरेको चलाउनेले जानकारी दिनुभयो ।

न्यायका लागि तीन वर्षसम्म अदालतले ३५ पटक पेशी सार्नु र सरकारले अन्तिममा मुद्दा फिर्ता लिने निर्णय गर्नुले आफ्नो घाउमा थप पीडा थपिएको उहाँले उल्लेख गर्नुभयो । चलाउनेले भन्नुभयो, ‘मेरो न्यायको ढोका नै बन्द गर्न खोजिएपछि बाध्य भएर अनशन बसेको हुँ ।’

Photo_080-3-5_Kathmandu

अन्य

भिडियो