शुक्लाफाँटा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् ।
संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका १८ जना स्वास्थ्यकर्मीहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन नसक्दा समस्यामा परेको बताउनु भएको छ ।
स्वास्थ्यकर्मीहरुले कारोनाकाललगायत आपत्कालिन समयमा आफ्नो स्वास्थ्यको ख्याल नराखी सेवा प्रवाह गरिरहेको अवस्थामा सरकारले स्वास्थ्यकर्मीहरुको हौसला बढाउन समयमै तलब तथा अन्य सुविधा दिनु पर्नेमा उल्टै तलब पारिश्रमिक नै नदिएर स्वाथ्यकर्मीहरुको मनोबल घटाउने कार्य सरकारले गरिरहेको स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक पदम महराले गुनासो गर्नु भयो ।
उहाँले पटक–पटक नगरपालिकासँग समन्वय गर्दा समेत नगरपालिकाले आफूसँग बजेट नभएको भनेर जिम्मेवारीबाट पन्छीने गरेको बताउनु भयो ।
समयमा तलब नपाउँदा घरभाडालगायत आफ्नो दैनिकीमा समस्या परेको अहेब हरि भट्टले दुखेसो पोख्नु भयो ।
एउटै शाखामा कार्यरत नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने तर सरकारका कर्मचारीले तलब नपाउँदा कर्मचारीको मन निकै अमिलो हुने गरेको स्वास्थ्यकर्मी पार्वती साउदले दुखेसो पोख्नु भयो ।
उहाँले छोराछोरी पढाउनेदेखि लिएर घर खर्च, घरको ऋण सबै तलब मै भर पर्ने हुनाले लामो समयदेखि तलब नपाउँदा जिवन धान्न सकस् भएको गुनासो गर्नु भयो ।
चालु आर्थिक वर्षका लागि सरकारले १ करोड ८२ लाख रुपियाँ बजेट विनियोजन गरेकोमा उक्त बजेट ६ महिनामै सकिएका कारण स्वास्थ्यकर्मीहरुलाई तलब दिन नसकिएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमान्द भट्टले बताउनु भयो ।
उहाँले स्वास्थ्यकर्मीलाई तलब दिनका लागि बजेट अपुग भएपछि स्वास्थ्य मन्त्रालयसँग बजेट निकासाका लागि पत्राचार गरेको भए पनि हालसम्म बजेट रकम मन्त्रालयबाटै नपठाएकोले नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ६ महिनादेखि तलब नपाएकोे बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्यकर्मीको समस्या तत्काल नगरपालिकाले समाधान गर्न नसक्ने अवस्था छ । स्वास्थ्यकर्मीको सेवा सुविधा उपलब्ध गराउने जिम्मा संघीय सरकारको हो । धेरै पटक कर्मचारीहरू डेलिगेसनमा आउनु भएको छ । यो विषय मन्त्रालयको हातमा छ ।’
नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीहरूले नियमित तलब पाइरहेका भए पनि नेपाल सरकारको तर्फबाट तलब पाउने स्वास्थ्यकर्मीहरू भने ६ महिनादेखि तलब नपाउँदा घर व्यवहार व्यवस्थापन गर्न नै समस्या परेको स्वास्थ्य शाखा प्रमुख भट्टले बताउनु भयो ।