भारी वर्षाका कारण कोशी प्रदेशका ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा गरी आठ जनाले ज्यान गुमाएको कोशी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।
भारी वर्षापछिको बाढी र पहिरोका कारण २८ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी सङ्खुवासभामा १८ जना बेपत्ता भएका छन् ।
बेपत्ताहरूको खोजी र बाढीपहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार असार २ गतेदेखिको भारी वर्षाका कारण भोजपुर, टेम्केमैयुम गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राई, सङ्खुवासभाको पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथर, फालेलुङ गाउँपालिका–४ की आठ वर्षीया जुना साउदेन, फिदिम नगरपालिका–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा गाँउपालिका–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राईको बाढीपहिरोका कारण ज्यान गएको छ ।
बाढी र पहिरोमा परी २८ जना बेपत्ता छन् । बेपत्ता हुनेमा तीन जना महिला र २५ जना पुरूष रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेपत्ता भएका छन् ।
प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ ओटा पुलमा क्षति पुगेको छ । मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ ओटा घर भत्काएको छ ।
प्रदेश सरकारले प्रभावितका लागि आपतकालीन राहत सामग्री सम्बन्धित जिल्लामा पठाएको छ ।