नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिले स्वास्थ्यकर्मीको जिउधनको सुरक्षा गर्न माग गर्दै असार ३ गते प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले स्वास्थ्यका कर्मचारीको जिउधनको सुरक्षा गरि निर्वाधरुपमा काम गर्ने वातावरण बनाउन माग गरेको हो ।
व्यास नगरपालिका–९ गजुरे स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक खुसीराम क्षेत्रीलाई स्थानीय ३० वर्षीय सन्तोष थापाले असार २ गते फर्जी मेडिकल रिपोर्ट बनाउन दबाव दिएकोमा स्वास्थ्यचौकीका प्रमुख क्षेत्रीले अस्विकार गरेकोमा सोही राती सन्तोष थापाको नेतृत्वमा जनस्वास्थ्य निरीक्षक क्षेत्रीको व्यास नगरपालिका–९ मोहोरीयाटारमा रहेको घरमा आक्रमण गरेको घटनाको विरोधमा समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिका संयोजक लक्ष्मी गुरुङले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भेटी बुझाएको ज्ञापनपत्रमा व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकी प्रमुख खुसिराम क्षेत्रीको निजि निवास व्यास–९, मोहोरियाटारमा सोही ठाउँका ३० वर्षीय सन्तोष थापा लगायतका केहि व्यक्तिहरुले मादक पदार्थ सेवन गरि ज्यान लिने धम्की सहित रातको करिब १० बजे समयमा ढुङगा, मुढा र बियरको बोतलको प्रयोग गरि आक्रमण गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
एउटा सच्चा राष्ट्रसेवक कर्मचारीलाई अवैध, जुन कानुनत् बनाउनै नमिल्ने फर्जी मेडिकल रिपोर्ट बनाउन दबाव सिर्जना गर्ने र सो कार्य गर्न अस्विकार गर्दा यस्ता किसिमका अमानविय, निन्दनिय र जघन्य किसिमका अपराध घटाउने प्रकृतिका कार्य गर्नेहरुलाई समाजमा दुर्गन्ध फैलाउन नदिन, कर्मचारीको जिउधनको रक्षा गर्न साथै विधिको शासन पालना गराउन यस घटनामा संलग्न रहेका सम्पुर्ण व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाहीको माग गरिएको छ ।
पीडित जनस्वास्थ्य निरिक्षक क्षेत्रीले पनि फर्जी मेडिकल रिपोर्ट नबनाइदिदा आफुमाथी आक्रमणको प्रयास भएकोे बताउनु भयो । भारतको उडिसा पुलिसमा कार्यरत थापाले लामो समय घरमा बसेको कारणले बिरामी भएको मेडिकल रिपोर्ट बनाइदिन स्वास्थ्य चौकीमा आएर आग्रह गरेको र आफुले यस्तो रिर्पाेट बनाउन मिल्दैन भनेपछि थापाले धम्की दिएको क्षेत्रीले बताउनु भयो ।
आरोपित थापालाई असार ३ गते प्रहरीले गिरफ्तार गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले आरोपितलाई गिरफ्तार गरिसकेकाले सत्यतथ्य बुझेर थप कारबाही गरिने बताउनु भयो ।
