INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच महिनादेखि तलब पाएनन् सूर्यविनायक नगरपालिकाका स्वास्थ्यकर्मीले

सूर्यविनायक नगरपालिका भित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिका भित्र सञ्चालित विभिन्न स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र शहरी स्वास्थ्य संस्थाका कार्यरत १ सय भन्दा बढी स्वास्थ्यकर्मीहरूले विगत पाँच महिनादेखि तलब नपाउँदा समस्यामा परेका छन् ।

चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत पाँच महिनादेखि तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चापागाईँले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरूले गत माघ महिनादेखि नेपाल सरकारका करिब ७० जना स्वास्थ्य शाखाका कर्मचारी एवम् स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उहाँले बताउनु भयो ।

नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीहरूले भने नियमित तलब पाइरहेका छन् । स्वास्थ्य शाखाका प्रमुख चापागाईँले भन्नुभयो, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवम् स्वास्थ्यकर्मीले नियमित तलब पाइरहेका छन् । तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मीहरू भने पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ ।’

एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा कर्मचारीको मन निकै अमिलो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यहाँका कर्मचारीका लागि मासिक करिब ४५ लाख रुपियाँ तलबमा खर्च हुने गरेको नगरपालिकाका लेखापाल महेश भट्टराईले जानकारी दिनुभयो ।

बजेट सकियो भनेर नेपाल सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको उहाँले जानकारी दिनुभयो । नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको बताउनु भयो ।

तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उहाँले तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको उहाँको भनाइ थियो । स्वास्थ्य मन्त्रालयले पनि तलब निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गरेको तर अहिलेसम्म निकासा नभएको जनाएको छ ।

अन्य

भिडियो