INSEC Online

📅 २०८३ जेष्ठ २१

लामोदूरीका सवारी साधन ठप्प गरिएपछि सर्वसाधारण मार्कामा

लामोदूरीका सवारी साधन पाँच दिनदेखि ठप्प पारिएपछि जिल्लाबासी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

नयाँ भाडादर समायोजन विरुद्ध आन्दोलित यातायात व्यवसायीहरूले पाँच दिनदेखि लामोदूरीका यातायातका साधनहरु ठप्प पारेपछि स्थानीयहरुले सास्ती खेप्नु परेको हो ।

लामोदुरीका सवारी साधन बन्द भएको दिनदेखि नै यातायात व्यवसायीसँग छलफल भए पनि अहिलेसम्म यातायात सञ्चालनमा आउने टुङ्गो नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बझाङका सहायक हवल्दार दीपेन्द्र कठायतले बताउनु भयो ।

यातायातका साधन बन्द हुँदा जिल्ला बाहिर जाने र आउने यात्रु समस्यामा परेका छन् ।

विशेष गरी खेतीपाती लगाउने समय नजिक आइरहेकाले रोजगारीका लागि भारत गएका जिल्लाबासीहरु घर फर्किरहेको अवस्थामा यातायातका साधन ठप्प पारिएकोले आफूहरु कैलाली र कञ्चनपुरमा अलपत्र परेको गुनासो गर्नु भएको छ ।

जरुरी काम परेकाले काठमाडौँ जानुपर्ने भए पनि जेठ २७ गतेदेखि यातायात बन्द भएर सदरमुकाम चैनपुरमा बसिरहेको जयपृथ्वी नगरपालिका–१ कैलासका लोकराज सिंहले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘सानो गाडिमा जाउँ भने १५ हजारदेखि २० हजार रुपियाँ दिएर रिजर्भ गर्नु पर्छ । ठुला यातायातका साधन कुरेको पाँच दिन भइसक्यो । घरबाट लिएर आएको खर्च रकम समेत सकिन लाग्यो ।’

लामोदूरीका यातायातका साधनहरु सञ्चालनमा आउने कुनै टुङ्गो नभएपछि महोङ्गो हवाइ टिकट तिरेर काठमाडौँ जानु परेको जयपृथ्वी नगरपालिका–१ का पन्ध्र्रबहादुर सिंहले दुखेसो पोख्नु भयो ।

आर्थिक अवस्था राम्रो भएका र पहुँच भएका व्यक्तिहरू गाडी रिजर्भ गरेर आवतजावत गरिरहेका भए पनि सर्वसाधारण यात्रुहरु समस्यामा परेका मालिका बस व्यवसायी समिति, बझाङका काउण्टर प्रमुख नवराज जोशीले बताउनु भयो ।

सरकारले भाडा निर्धारण गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसक्नुले स्थानीयबासी तथा यात्रुहरुले सास्ती खेप्नु परेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।

केही दिनअघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदूरीका सवारीसाधनको भाडादर तोकेपछि त्यसको विरोध गर्दै यातायात व्यवसायीहरुले आन्दोलन गर्दै आएका र समस्या समाधानका लागि यातायात व्यवसायी र सुदूरपश्चिम प्रदेश सरकार छलफलमा रहको भए पनि सहमति हुन नसकेको मालिका बस व्यवसायी समितिका काउण्टर प्रमुख जोशीको भनाइ छ ।

प्रदेश सरकारले केही दिन अगाडी धनगढीदेखि बझाङसम्मको भाडा दर १ हजार ४१ रुपियाँ तोकिएको थियो । यातायात व्यवसायीहरूले भने पुरानै भाडा दर १ हजार २ सय ५० रुपियाँ लिन पाउनु पर्ने बताएका छन् ।

यसरी लामोदूरीका यातायातका साधनहरु सञ्चालनमा नआएपछि जिल्लाका अशक्त, असहाय र आर्थिक अवस्था कमजोर भएका परिवारका विरामीहरुको उपचारका लागि अन्य जिल्ला लैजान समेत समस्या हुने गरेको छ ।

प्रदेश सरकारले एकलौटी रूपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीले यातायातका साधन पाँच दिनदेखि पूर्ण रूपमा बन्द गरेपछि स्थानीयबासी तथा यात्रुहरुले समस्या झेल्नु परेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो ।

उहाँले सुदूरपश्चिम बस व्यवसायीसँग प्रदेश सरकारले छलफल गरिरहेको जानकारीमा आएको भए पनि यातायातका साधनहरु सञ्चालन कहिलेदेखि सुचारु हुन्छन् भन्ने एकिन नभएको बताउनु भयो ।

Photo20230614bajhnag

अन्य

भिडियो