
मानव अधिकारको अवस्था तथा अधिकारकर्मीहरूको चुनौती विषयक छलफल कार्यक्रम लहानमा जेठ २९ गते समपन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, मुक्ति नेपाल, ओरेक, मानव अधिकार संरक्षण केन्द्र (संजाल), महिला मानवअधिकार रक्षक संजालको आयोजना र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा छलफल कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशकी कार्यालय प्रमुख मञ्जु खतिवडाले मानव अधिकार आयोगको मधेस प्रदेशका सबै जिल्ला हेर्नु पर्ने र सिमित जनशक्ति भए पनि मानव अधिकारको हनन् भएको अवस्थामा आयोग सदैव अनुगमन गर्न तयार रहेको बताउनु भयो । जिल्ला जिल्लामा रहेका मानव अधिकार रक्षकहरूनै आयोगको शक्ति भएको र उनिहरूसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले घटनाको अनुगमनमा जाँदा सधै टिममा जानु पर्ने र आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मानव अधिकारको अनुगमन गर्नु पर्ने बताउनु भयो । आयोग, इन्सेक जस्ता सङ्घ संस्थाहरूले जिल्लामा भएका मानव अधिकार रक्षकहरूको क्षमता अभिबृद्धि, कानूनी ज्ञान बढाउन र सुरक्षाको सवालमा काम गर्नु पर्ने र गरीरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सदस्य महेश सिहं, सञ्चारकर्मी फिरोज शेख, मणिलाल विक अधिकारकर्मीहरू, देवराज पोखरेल, गंगा अधिकारी, रामभरोसी महतो, अनिता चौधरी, श्यामकुमारी साह लगायत सहभागीहरूले आयोगको भूमिका अझै सक्रिय बनाउन आग्रह गर्नु भएको थियो ।
