सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरूद्ध परेको बालसैनिकको प्रयोगसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको रिट निवेदन दर्ता गर्न माग गर्दै पूर्व बालसैनिक लेनिन विष्टले दिएको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको ०८० जेठ २६ गतेको एकल इजलासले सुनुवाई गर्दै उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।
पूर्व बालसैनिक तथा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग गरी अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको र आफू लगायतलाई सशस्त्र द्वन्द्वकालमा बालसैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकु घोषणा गरी शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो ।
तर सर्वोच्च प्रशासनले रिट दर्ता गर्न नमानेपछि विष्टले रिट निवेदन दर्ता गरिपाउँ भनी पुन निवेदन दिनुभएको थियो । सोही निवेदनमा सुनुवाई गर्दै न्यायाधीश भट्टराईको इजलासले निवेदकको माग बमोजिम रिट दर्ता गर्न आदेश दिएको हो ।