त्रियुगा नगरपालिका–१३ जोगीपोखरीकी ३२ वर्षीया रमुना राईलाई कुटपिट गरी हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालतले सप्तरी, बिष्णुपुर गाउँपालिका–१ बाजितपुरका ३६ वर्षीय पति देवकृष्ण मण्डललाई नौ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट १० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेष्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।
घरायसी विवादका क्रममा ०७९ मङ्सिर १४ गते ढोकाको आग्लो र कुकरले टाउकोमा प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई मङ्सिर २० गते घरबाटै गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा ०७९ पुस १७ गते ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको पुस १८ गतेको आदेशमा आरोपित पूर्पक्षका लागि थुनामा थिए ।
पतिले प्रहार गरेको आग्लोबाट घाइते हुनु भएकी पीडितको उपचार जिल्ला अस्पतालमा ०७९ मङ्सिर १४ गते गरिएको थियो ।