कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ २१ गते प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले सबै बालबालिकालाई शिक्षाका पहुँचमा ल्याउनका लागि ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि सारेको बताउनु भयो ।
यसै गरी प्रविधि मैत्री शिक्षालाई जोडदिनका लागि ‘एक जिल्ला एक नमुना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले सार्वजनिक शिक्षा सुधार अभियान मार्फत प्रविधि मैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउने योजनाका साथ यो कार्यक्रमको सुरुवात गरेको छ ।
शैक्षिक गुणस्तरका लागि वीरेन्द्रनगरमा डिजिटल शिक्षण केन्द्र स्थापना गरी सामुदायिक विद्यालयमा डिजिटल बोर्ड मार्फत पठनपाठन सुरु गर्ने कार्यक्रम अगाडि सारेको छ ।
एक विद्यालय एक स्वास्थ्यकर्मी, पूर्वाधार निर्माणमा सहयोग गरिने, पूर्ण साक्षरका रूपमा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको जनाइएको छ । गरिबी अन्त्यका लागि प्रत्येक वर्ष १० हजार रोजगारी सिर्जना समृद्धि अभियानका लागि परियोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै प्रदेश सरकारले जन आन्दोलन, जनयुद्ध र कर्णालीप्रदेश प्राप्तिको आन्दोलनमा सहिद परिवार, घाइते र अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जनका लागि व्यवसाय सञ्चालन गर्न विउ र पुँजीको व्यवस्था गर्ने समेत जनाएको छ ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई सुलभ, गुणस्तर र प्रभावकारी बनाउन पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्थापनलाई
प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्ष नागरिक स्वास्थ्य परीक्षण वर्षका रूपमा प्रदेश सरकारले घोषणा गरेको छ ।
डायलासिस, दन्त चिकित्सा, फिजियो थेरापी, आँखा लगायतका विशेषज्ञ सेवाका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेश अस्पतालमा मुटु, क्यान्सर, डायलासिस सेवा उपलब्ध गराइ प्रेषण अस्पतालका रूपमा विकास गरिने र एमबिबिएस र एमडी अध्ययनका लागि शिक्षण अस्पतालका रूपमा विकास गरिने प्रदेश सरकारले पुराना योजना अगाडि सारेको छ ।

