INSEC Online

📅 २०८३ जेष्ठ २१

घर निर्माण सम्पन्न हुँदा पनि बाढीपीडितले दोस्रो किस्ता पाएनन्

ढोरपाटन नगरपालिकाका बाढी पीडितले घर निर्माणको लागि नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने दोस्रो किस्ताको रकम प्राप्त गर्न नसक्दा थप पीडित बनेका छन् ।

२०७७ सालको भदौं १७ गते भूजिखोलामा आएको बाढीले पीडित बनेका २ सय १३ जना बाढीपीडितको लागि ८२ ओटा घर निर्माण गर्नुपर्ने थियो । घर निर्माण सुरू गर्दा ५० हजार पाएका घर धनीले हालसम्म दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

ढोरपाटन नगरपालिकाका–९ का कुलबहादुर विकले घर निर्माण सम्पन्न गरेको ४ महिना बित्यो । ०७९ फागुन महिनामै घर निर्माण सम्पन्न गरेका विकले पहिलो किस्ता बापत ५० हजार रुपियाँ प्राप्त गर्नुभएको थियो । घर निर्माण सम्पन्न गर्दा १२ लाख ५० हजार खर्च भएको बताउने विकले नेपाल सरकारबाट ३ लाख ५० हजार प्राप्त गर्नुपर्ने छ ।

सरकारबाट प्राप्त गरेको ५० हजार, इष्टमित्र र आफुसँग भएको गरेर ७ लाख ५० हजार खर्च जोहो गरेका विकको घर निर्माण सम्पन्न गर्दा ५ लाख रुपियाँ ऋण लागेको छ । घर सकियो हामिले पाउनुपर्ने रकम दिनुस भनेर ढोरपाटन नगरपालिकामा पटक–पटक पुग्यौं, तर अहिले सम्म पैसा पाएको छैन् विक भन्नुहुन्छ,।’ विक जस्तै यहाँका अधिकांश पीडितले घर निर्माण सम्पन्न गरेका छन् भने केही घर निर्माणको अन्तिम चरणमा रहेका छन् ।

ढोरपाटन नगरपालिकाले उचित पहल नगर्दा बाढीपीडितले दोस्रो किस्ता रकम पाउन नसकेका हुन् ।

ढोरपाटन नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदावी नआएका कारण पीडितलाई राहत दिन नसकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ बताउनुहुन्छ ।

‘३७ जनाको ज्यान गएको, १५ जना बेपत्ता हुनेगरि आएको बाढीबाट पीडित बनेका ८२ परिवारले प्रक्रिया पुराएर पहिलो किस्ताको रकम लैजानुभएको सात महिना बित्यो,’ प्रजिअ श्रेष्ठले भन्नभयो, ‘नगरपालिकाले दोस्रो किस्ताको लागि माग नगर्दा पीडितले प्राप्त गनुपर्ने रकम अड्किएको छ ।’ नगरपालिकाले छिटो कानूनी प्रक्रिया पुरा गरे पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको श्रेष्ठको भनाई छ ।

२०७७ सालमा बागलुङ जिल्ला मनसुनजन्य विपद् प्रभावित जिल्लाको रुपमा सुचिकृत थियो । जिल्ला प्रशासन कार्यालयले विपद्का लागि कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आव्हान गरेपनि ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दा समेत दावी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मुल्याङ्कनका लागि प्राविधिक खटाएर मुल्याङ्कन फाराम भरि जिल्ला प्रशासन कार्यालय बागलुङ पठाउने तयारी गरेको ढोरपाटन नगरपालिकाका सूचना अधिकारी चण्डीराज पौडेलले बताउनुभयो ।

जेठ महिना भित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको उहाँको भनाई छ ।

अन्य

भिडियो