INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगको साख जोगाउन सबैपक्ष लाग्नुपर्ने : मानव अधिकार आयोगका पूर्व आयुक्त प्याकुरेल

राष्ट्रिय मानव अधिकार आयोगका पुर्व आयुक्त सदस्य सुशील प्याकुरेलले आयोगको साख जोगाइराख्नका लागि सबै तह सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।

जेठ १२ गते सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ स्थापना दिवसको अवसरमा बोल्दै पुर्व आयुक्त प्याकुरेलले यस्तो बताउनु भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग स्थापनाका लागि २०४६ सालबाट नै यसको आवश्यकता औल्याएर संघर्ष गर्दै यहाँ सम्म आइपुगेकाले भोलिका दिनमा यसको प्रभावकारी भूमिकाको निम्ति सबै सरोकारवाला निकाय लाग्न आवश्यक रहेको औल्याउनुभयो । आयोग स्थापनाका लागि २०४९मा संसदमा माग, र २०५१ सालमा मध्यवर्ती चुनाव पछि सबै दलका कार्यकर्तासँग यसको आवश्यकताका विषयमा बोध गराउँदै २०५७ सालमा आयोग स्थापनाका लागि अदालतबाट आदेश दिएपछि बल्ल आयोगले गति लिन थालेको कुरा समेत स्मरण गराउनुभएको थियो ।

आयोगलाई यहाँ सम्म ल्याउनका लागि धेरै संघर्ष र मेहनत गरेको स्मरण गर्दै पूर्व आयुक्त प्याकुरेलले अहिले संवैधानिक आयोग बन्नुमा ठुलो गर्वको कुरा भएको समेत बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग विश्वको एक शक्तिशाली आयोग भएर चिनिएको समेत बताउनुभयो ।

यस्तै स्थापना दिवसका अवसरमा शुभकामना दिदै  इन्सेक अध्यक्ष डा.कुन्दन अर्यालले आयोगको विश्वासनियता बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कर्णालीमा मानव अधिकार हननका घटना बढी हुने भएकाले यस्ता खालका घटनामा कमी ल्याउन आयोग तल्लीन हुनुपर्ने उहाँको भनाइ छ ।

यस्तै यरी, कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेतका न्यायाधिश पुनम सिंह चन्दले आयोगले मानव अधिकारका घटनाका विषयमा सम्बन्धित ठाउँमा नै गएर छानबिन गर्न सुझाव दिनुभएको छ । सरकारलाई यस्ता विषयमा पटक पटक ध्यानाकर्षण गराउने तथा कुनै पनि व्यक्तिको मानव अधिकार हनन् हुनबाट वञ्चित नगराउने उदेश्यले काम गर्न सुझाव दिनुभयो । साथै अदालत मानव अधिकारका विषयमा सधैँ संवेदनशिल भएकाले जहिले पनि मानव अधिकार विषयबस्तुको छानबिन अगाडि नै सुरु गर्ने गरेको समेत जानकारी दिनुभयो । मानव अधिकार रक्षकको संरक्षण अधिकारको लागि अदालत सधैँ तयार र तत्पर रहेको समेत बताउनुभएको छ ।

न्यायधिस चन्दले सम्पुर्ण सरोकारवाला निकायले आ आफ्नो तहबाट मानव अधिरकारको संरक्षण गर्न सकेमा मानव अधिकार हननका घटनामा कमी आउन सक्ने उहाँको अनुमान छ ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकारको संरक्षणका लागि सबैले हातेमालो गर्न अनुरोध गर्नुभयो ।

Photo20230528Surkhet (3)

अन्य

भिडियो