३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय विशाल परियारलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ ८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै २ लाख रुपियाँ जरिबाना र २० हजार क्षतिपूर्तिको आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०७८ साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०७९ साउन १४ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा भदौ ७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको ०७८ भदौको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ साउन १४ गते गरिएको थियो ।