बिष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५२ वर्षीय रामसुन्दर महतोको हत्या आरोपमा ५० वर्षीया पत्नी इनरवती महतो र जनतान्त्रिक तराई मुक्ती मोर्चा गोइत समूहमा आबद्ध रूपनी गाउँपालिका–१ रूपनी चौकका ३८ वर्षीय नाजिर मियाँ भनिने नासिर मियाँलाई वैशाख ३१ गते जन्मकैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितहरुलाई जन्मकैद सजाय भएको अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले बताउनु भयो ।
आरोपित नासिरले ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र जनही २ हजार ८ सय रुपियाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ ।
हत्याको आरोपमा ०७९ वैशाख २३ गते नासिरलाई र ०७९ जेठ २४ गते इनरवतीलाई प्रहरीले गिरफ्तार गरेको थियो । नासिर र डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ३० वर्षीय रोशन साह महतोले नै महतोको हत्या गरेको र इनरवतीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
आरोपित मियाँ र रोशन साह ०७८ असोज ८ गते बिहान महतोको घर पुगेको महतोकै छोरा जितेन्द्रले बताउनु भएको थियो । नासिरले गाउँटोलमा भोज छ भनी खाना बनाउने कामका लागि महतोलाई लगेको पीडित पक्षको आरोप थियो ।
भोजका लागि लैजाने र जाने तीन दिनसम्म सम्पर्कविहिन भएपछि घरपरिवारका सदस्यहरूले खोजी गरेका थिए । शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा ०७८ असोज ९ गते महतोको शव फेला परेको थियो ।
असोज ११ गते शवको पहिचान खुलेर सनाखत भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शवको पोष्टमार्टम भएको थियो ।
महतोलाई घरबाटै लैजाने नासिर र साहले नै हत्या गरेको हुन सक्ने मधुसुदनले बताएपछि प्रहरीले आरोपितहरूको खोजी कार्य थालेको थियो । मृतकका छोरा जितेन्द्रले आरोपितहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरारउनु भएको थियो ।
हत्या घटनाका अर्का आरोपित साह हालसम्म फरार रहेको प्रहरीले जनायो । साहको हकमा न्यायाधीश रावलको वैशाख ३१ गतेको इजलाशले मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको छ ।