INSEC Online

📅 २०८३ जेष्ठ २१

डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको पाइएको छ ।

गाउँमूनि भएर बग्ने भालुखोला र कोइराले खोलाले वर्षेनी कटान गर्न थालेपछि डाइनीका स्थानीयबासीहरुका घर तथा खेत बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीय चक्रबहादुर धामीले दुखेसो पोख्नु भयो ।

वर्षायाम सुरू हुनै लाग्दा बाढीपहिरोको उच्च जोखिमले यहाँका स्थानीयहरुको जनधनको क्षति सहित उठ्ठिबास नै लगाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उहाँको भनाइ छ ।

यस वर्ष नदीमा राम्रोसँग तटबन्ध नभए बस्ती नै सखाप हुने उहाँले बताउनु भयो । ‘बर्सातको समयमा तलबाट खोला र माथिबाट पहिरो आउँछ । त्यतिबेला हामीलाई ज्यान जोगाउन नै मुस्किल हुने गर्दछ । भाग्ने ठाउँ पनि छैन,’ धामीले भन्नु भयो, ‘यहाँ २०६५ सालदेखि खोलाले कटान गर्दै आइरहेको छ । तर, हाम्रो समस्या कसैले पनि सुनेका छैनन् ।’

तटबन्दका लागि बजेट विनियोजना गर्ने गरिएको भए पनि  दिगो रूपमा समस्या समाधानका लागि काम हुन नसकेको स्थानीय विमल धामीको गुनासो छ । उहाँले तीनै तहका सरकार मिलेर दिगो रूपमा तटबन्ध गर्नु पर्ने माग गर्नु भयो ।

बझाङ जिल्लाबाट २०४० सालमा बसाइँ सरेर आलिताल गाउँपालिका–७ डाइनी गाउँमा अउनु भएका भुवन बोहराले नदी कटान नै यहाँको मुख्य समस्या रहेको बताउनु भयो ।

‘बझाङ जिल्लाबाट बसाइँ सरेर यस ठाउँमा आउँदा राम्रै थियो । यो बस्ती यस क्षेत्रकै उर्वर भूमि हो । उर्वर भूमि देखेर हामी यहाँ बस्यौँ नत्र हामी तराई जान्थ्यौँ,’ उहाँले भन्नु भयो, ‘ अहिले नदिले उर्वर जमिन काट्दै लागेको छ । यहाँबाट दुई / तीन परिवारको त उठ्ठिबास नै भइसकेको छ ।’

बाढीपहिरोको उच्च जोखिममा रहेको डाइनीबस्तीको सुरक्षा तथा व्यवस्थापनको समस्या समाधान गर्न प्रदेश र संघीय सरकारलाई पटक–पटक आग्रह गरेको भएपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताउनु भयो ।

गतवर्षको अविरल वर्षापछि आएको बाढीले नदीमा लगाइएका जालीहरू बगाएर लगेको र अहिले डाइनी गाउँ उच्च जोखिममा रहेको उहाँको भनाइ छ । गाउँपालिकासँग तटबन्धका लागि पर्याप्त बजेट नभएको कारण समस्या समाधान गर्न नसकिएको अध्यक्ष पार्कीले बताउनु भयो ।

गाउँपालिकाको बजेटले मात्रै नदीमा तटबन्द गर्न नसकिने भएकोले यस वर्ष प्रदेश सरकारलाई गुहारेर जसरी भए पनि तटबन्ध निर्माण गरी बस्ती जोगाउन पहल गर्ने अध्यक्ष पार्कीले बताउनु भयो ।

photo20230519dadeldhura (3)

photo20230519dadeldhura (4)

photo20230519dadeldhura (5)

अन्य

भिडियो