INSEC Online

📅 २०८३ जेष्ठ २१

पोषण कार्यक्रम प्रभावकारी नहुँदा अझै छन् जिल्लामा कुपोषित बालबालिका

 

सरकारी तथा गैरसरकारी क्षेत्रबाट विगत वर्षदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ ।

स्वास्थ्य कार्यालय, दार्चुलाको चालू आर्थिक वर्षको तथ्याङ्क अनुसार लेकम गाउँपालिकामा मात्रै कुपोषित बालबालिकाको सङ्ख्या ५२ जना भन्दा बढी रहको छ ।

जिल्लाका नौ ओटा स्थानीय तहका २४ हजार ५ सय ६६ जना बालबालिकाको नापजाँच गर्दा चालू आर्थिक वर्षमा ३ सय ५६ जना कुपोषित बालबालिका भेटिएका स्वास्थ्य कार्यालय, दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्र भट्टले बताउनु भयो। जिल्लामा अघिल्लो आर्थिक वर्ष ०७९ / ०८० मा ५ सय ८३ जना कुपोषित बालबालिका भेटिएका थिए ।

अघिल्लो वर्षको भन्दा सुधार भएपनि लगानीअनुसार जिल्लामा बालबालिकाको कुपोषण सुधार हुन सकेको छैन् ।

स्वास्थ्य कार्यालय, दार्चुलाका खोप सुपरभाइजर भट्टका अनुसार सबै भन्दा कम कुपोषित बालबालिका अपिहिमाल गाउँपालिकामा २० जना मात्रै छन् ।

उहाँले भन्नु भयो– ‘व्याँस गाउँपालिकामा ४९ जना, दुहुँ गाउँपालिकामा ४३ जना, महाकाली नगरपालिकामा ४७ जना, नौगाड गाउँपालिकामा ३८ जना, मार्मा गाउँपालिकामा ३६ जना, मालिकार्जुन गाउँपालिकामा ३८ जना र शैल्यशिखर नगरपालिकामा ३३ जना कुपोषित बालबालिका छन् । पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा जेडस्कोर मापन अभियान सञ्चालन गरेर जिल्लाभरीका कुपोषण बालबालिकाको खोजी भइरहेको छ ।’

कुपोषण नियन्त्रणको लागि स्वास्थ्य कार्यालय, दार्चुला, नौ ओटै स्थानीय तह र गैरसरकारी संघसंस्थामार्फत ठूलो लगानी भइरहेको,  प्रत्येक स्थानीय तहले सुनौलो १ हजार दिनलाई लक्षित गरी उपमेयर / उपाध्यक्ष कोशेली कार्यक्रम सञ्चालन गरिरहेका, बाल पोषण सुदृढिकरणको लागि बालबालिकाहरुको पोषणमैत्री जन्म दिन मनाउने, कुखुरा वितरण गर्नेलगायतका कामहरु भइरहेको भएपनि कुपोषित बालबालिकाको सङ्ख्यामा अपेक्षाकृत कमी आउन सकेको छैन् ।

लेकम गाउँपालिकाले सुनौला १ हजार दिनका महिलाका लागि सुत्केरीसँग उपाध्यक्ष कोशेली कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘यो वर्ष लेकम गाउँपालिकाको वडा नम्बर ३ छनौट गरी कार्यक्रम गरेका छौँ ।

सो कार्यक्रम अन्तर्गत २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । विगतमा पनि यस्ता कार्यक्रम गर्दै आएका हौँ तर सबै वडामा एकैपटक कार्यक्रम गर्दा प्रभावकारी नदेखिदा वडा छनौट गरेका छौँ । अन्य वडामा अरु कार्यक्रममार्फत पोषणमा सहयोग भइरहेको छ ।’

पोषणकै क्षेत्रमा सुआहारा कार्यक्रमले जिल्लामा सन् २०१६ देखि सन् २०२२ सम्म ६ करोड ३९ लाख ८५ हजार २ सय ४९ रुपियाँ खर्च गरेको जनाएको छ । कुल ६ करोड ७८ लाख ५६ हजार ५ सय ८८ रुपियाँ बजेट रहेकोमा कोभिडलगायतका कारणले सबै बजेट खर्च हुन नसकेको सुआहारा दोस्रो कार्यक्रम, दार्चुलाका संयोजक नागेन्द्रसिंह धामीले बताउनु भयो ।

उहाँले सुआहाराले ६१ ओटै वडामा दुई वर्षमूनिका बालबालिका र गर्भवतीको पोषणस्थितिमा सुधार ल्याउन ३३ हजार ३ सय ३० घरधुरीलाई परामर्श सेवा, सुनौलो १ हजार दिनका आमाहरुको मातृशिशु पोषणमा सुधार गर्नुका साथै सीघ्र कुपोषण भएका ९ सय ५८ बालबालिकालाई स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको बताउनु भयो ।

गैरसरकारी संस्था, स्थानीय सरकार र संघीय सरकारले पोषणमा ठूलो बजेट खर्च गर्दा पनि अझै अपेक्षाकृत पोषण र स्वास्थ्यमा सुधार हुन नसकेको जिल्ला समन्वय समिति प्रमुख महादेव बडुले बताउनु भयो ।

उहाँले आगामी दिनमा पोषणका कार्यक्रम सञ्चालन गर्दा प्रतिफल दिने गरी काम गर्नु पर्ने देखिएको बताउनु भयो ।

स्वास्थ्य कार्यालय, दार्चुलाले बालबालिकाको खोप कार्ड अनुसार पाखुराको नाप लिने गरेको छ । जसमा नाप लिदा टेपमा रातो, पहेँलो, हरियो रङ्ग हुने गरेको छ । बच्चाको पाखुराको नापलिँदा रातोमा पुग्नु कडा खालको, पहेँलो नापले मध्यम खालको र हरियोले सामान्य अवस्था देखाउने गरेको जनाउँछ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा अझै २ दशमलव ५ प्रतिशत शिशु कमतौलको जन्मिने गरेका, झण्डै ६० प्रतिशतले मात्रै पूर्णस्तनपान गराउने गरेको र जिल्लामा संस्थागत सुत्केरी ८६ प्रतिशत पुगेको छ ।

जिल्लामा दुई ओटा अस्पताल, ४० ओटा स्वास्थ्य चौकी, पाँच ओटा शहरी स्वास्थ्य केन्द्र, १९ ओटा आधारभूत स्वास्थ्य इकाई, ४१ ओटा सामुदायिक स्वास्थ्य सेवा केन्द्र, १ सय ४४ ओटा खोप केन्द्र र ४८ ओटा प्रसूति केन्द्र रहेका छन् ।

 

अन्य

भिडियो