बलात्कार घटनामा पीडित शारिरीक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।
इन्सेक प्रतिनिधि भविन कार्कीमार्फत कोशी प्रदेश कार्यालयले पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।
पीडित पक्षले इन्सेक प्रतिनिधिलाई सहयोगका लागि आग्रह गर्दै निवेदन दिएपछि इन्सेकले पीडितलाई सहयोग गरेको हो ।
पीडित महिलालाई समाज विकास केन्द्र सोडेकले सञ्चालन गरेको अल्पकालीन महिला सेवा केन्द्रमा राखिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि आग्रह गरेको थियो ।
उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएकी पीडित महिलाको शरीरका विभिन्न भागमा चोट र निलडाम भएको जिल्ला अस्पतालका डाक्टर प्रणव जैरूले बताउनु भयो ।
पीडितको जिल्ला अस्पतालमा वैशाख २३ गते उपचार पश्चात अहिले अल्पकालीन महिला सेवा केन्द्रमा राखिएको छ । पीडित महिलाको अवस्था उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
इन्सेकको सहयोगपछि पीडित पक्ष कानुनी प्रक्रियामा गएको छ । पीडित पक्षले बलात्कार घटनाका आरोपित सिलिचोङ गाउँपालिका–३ का ३० वर्षीय पेम्वा तामाङविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इन्सेकको सहयोगमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई वैशाख ३१ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३१ गते गरिएको छ ।