परशुराम नगरपालिका–८ का स्थानीयहरु शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउन बाध्य भएपछि यस क्षेत्रका १ सय ६० जना स्थानीय बिरामी परेका छन् ।
शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउदै आएका परशुराम नगरपालिका–८ गुप्तीगडाका स्थानीयहरु एक हप्तादेखि झाडापखालाबाट सकिस्त बिरामी हुदै आएका छन् ।
उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर उपचार थालिएको परशुराम नगर स्वास्थ्य शाखाप्रमुख तेजबहादुर सिंहले जानकारी दिनु भयो ।
उहाँका अनुसार गुप्तीगडा गाउँमा हाल स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमै उपचार सेवा पनि प्रदान गरिरहेको छ ।
१० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा झाडापखालाबाट प्रभावित भएको स्वास्थ्य कार्यालय, डडेल्धुराका सरुवा रोग नियन्त्रण फोकल पर्सन हरिप्रसाद भट्टले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो– ‘मेरो नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाउँमा छ । उपचार सेवासँगै जनचेतनामूलक कार्यक्रम पनि गर्दैछौँ ।’
जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तीगडा गाउँका झाडापखालाबाट पीडित भएका आठ जना बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिनु भयो ।
खानेपानीको मुहान प्रदूषित भएका कारण सो गाउँमा झाडापखालाको समस्या देखिएको उहाँले बताउनु भयो ।
खानेपानी शुद्धीकरण गरेर प्रभावित बिरामीहरूको उपचार कार्य भइरहेको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिंहले बताउनु भयो । ‘हिजो र आज झडापाखलाका नयाँ बिरामी देखिएका छैनन् । झाडापखाला नियन्त्रणतर्फ उन्मुख भएको छ,’ उहाँले भन्नु भयो । २०७५ सालमा पनि सो गाउँमा झाडापखालाको प्रकोप देखिएको थियो ।
झाडापखालाका कारण एक जनाको मृत्यु
झाडापखालाकै कारण एक बालिकाको मृत्यु भएको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहले जानकारी दिनु भयो । गत साता झाडापखालाले सिकिस्त बिरामी भएकी १४ वर्षीया सङ्गीता धामीको जोगबुडा अस्पतालले धनगढी रेफरगरेपछि बाटोमा मृत्यु भएको थियो ।
वैशाख २६ गते जोगबुडा अस्पताल भर्ना गरिएकी धामीलाई सोही दिन साँझ धनगढी रिफर गरिएको भएपनि बाटोमा नै केही समयमा मृत्यु भएको हो । केही दिन अघि बिरामी परेकी धामीको झाडापखालाका कारण मृत्यु भएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताउनु भयो ।
मृतक बालिकाको शरीरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा बाटोमै मृत्यु भएपछि परिवारजन तथा आफन्तहरुले अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए ।
परशुराम नगरपालिकाले मृतकको परिवारलाई क्षतिपुर्ति दिने र लापर्वाही गर्ने स्वास्थ्यकर्मीलाई सरुवा गर्ने निर्णय गरेपछि चार दिनपछि मात्रै आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए ।




