जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको स्तनपान कक्षमा महिनौदेखि प्रशासनले बन्द गरेको कारण सेवाग्राहिलाई समस्या परेको छ ।
झन्डै एक वर्षदेखि स्तनपान कक्षामा प्रशासनले ताला लगाउँदै आएको छ । कार्यालय भवनको प्रवेश गर्ने पहिलो कोठामै स्थापना गरेको स्तनपान कक्ष केही महिना अघि कर्यालय पछाडिको भवनमा सरेको थियो ।
लामो समयदेखि कार्यालय समयमा समेत स्तनपान कक्ष बन्द गरी प्रशासन आफैले स्थापना गरेको स्तनपान कक्ष प्रयोग बिहिन बनाएको छ ।
सेवाग्राही महिला र बालबालिकाको सुविधाका साथै उनीहरूलाई सिकाईमा प्राथमिकता दिन स्तनपान कक्षको स्थापना गरिएको भएपनि हाल उक्त स्तनपान कक्षमा बालबालिकाका लागि खेल्न सुत्न र बस्नका लागि चाहिने सबै सामान प्रयोगविहिन भएको छ ।
नागरिकता, पासवर्ड लगाएतका सेवा लिन आउँदा बालबालिका लिएर आउने महिलाले छोरा छोरीलाई दुध खुवाउन असहज हुने गरेको सेवाग्राहीको भनाई छ ।
प्रशासन कार्यालय भवनको प्रवेश गर्ने पहिलो कोठामा जिल्लामै पहिलो पटक जिल्ला प्रशासन कार्यालयले ०७६ जेठ ५ गते स्तनपान कक्षको स्थापना गरेको थियो ।
स्तनपान कक्ष सञ्चालन गर्नका लागि मानव तथा राष्ट्रिय विकास समाज ह्याण्ड्स नेपाल सिन्धुलीले ९० हजार ५ सय रुपियाँ बराबरको १६ थरिका खेल्ने, सुत्ने र सिकाईका सामानहरू सहयोग गरेको थियो ।
सार्वजनिक तथा निजी सङ्घसंस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । तर सिन्धुलीका अधिकाङ्श सरकारी तथा गैरसरकारी संस्थामा यसको व्यवस्था छैन भने प्रशासन कार्यालयमा रहेको स्तनपान कक्ष बन्द छ ।
कार्यालयमा कार्यरत महिला कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीलाई बच्चालाई स्तनपान गराउन सहज होस् भनेर कार्यालमै कक्षको स्थापना गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाका अधिकाङ्श कार्यालयमा यसको अभ्यास भएको पाइँदैन ।
स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य भए पनि व्यवस्थित कक्ष सञ्चालन नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ ।
जिल्लाका सबै सार्वजनिक कार्यालयहरूमा स्तनपान कक्ष निर्माण र सञ्चालन गर्न माग गरेको महिला अधिकारकर्मी पार्वती भट्टराईले बताउनु भयो ।
जिल्लामा रहेका सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुँदा सेवाग्राही तथा कार्यालयमा काम गर्ने महिला कर्मचारीहरूलाई समस्या परेको भन्दै अखिल नेपाल महिला सङ्घ सिन्धुलीले ०७९ चैत्र ९ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।